नेपाललाई कृषि क्षेत्रको विकासमा द्रूत विकास गराउने प्रविधि दिन ईजरायलको चासो


israelकृषि प्रविधिमा विश्वभर प्रसिद्धि कमाएको इजरायलले नेपालको कृषि क्षेत्रको द्रुत विकासका लागि प्रविधि हस्तान्तरणलगायत माध्यमबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका इजरायलका कृषि तथा ग्रामीण विकासमन्त्री याइर समिरले कृषि विकास मन्त्रालयमा भएको नेपाल–इजरायल मन्त्रिस्तरीय बैठकमा कृषि प्रविधिमा नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । मन्त्री समिर नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल र कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले नेतृत्व गरेको बैठकपछि रासससँग कुरा गर्दै मन्त्री समिरले पारस्परिक हित र लाभका विविध विषयमा आफूहरूबीच छलफल भएको जानकारी दिनुभयो । “हामी दुई साझेदार हौँ र एकार्काको हितका खातिर आपसी सहयोग प्रवद्र्धनमा हरसम्भव काम गर्दै आएका छौँ”, द्विपक्षीय वार्ता ज्ञान र सीप आदानप्रदानमा केन्द्रित रहेको स्पष्ट पार्दै इजरायली मन्त्रीले भन्नुभयो । बैठकमा मन्त्री पराजुलीले इजरायलमा अध्ययन र सीप सिक्न कृषि प्रशिक्षार्थीको सङ्ख्या बढाउने, पशुपालन, दूध तथा दुग्धजन्य उत्पादन व्यवस्थापन, बागवानी प्रविधि, मत्स्यपालन, जल व्यवस्थापन तथा सिँचाइ, खाद्य प्रशोधन तथा बाली भित्र्याएपछिको व्यवस्थापन, जैविकखेती तथा यान्त्रिकरणजस्ता विषयमा इजरायली प्रविधि तथा ज्ञान हस्तान्तरणमा जोड दिनुभएको थियो । मौरीपालन, सहकारीको विकासबाट इजरायलले हासिल गरेको समृद्धि, सहकारीको व्यवस्थापन, बीउबिजन र कृत्रिम गर्भाधानलगात कृषि क्षेत्रको समग्र विकासमा केन्द्रित रहेर छलफल भएको कृषि मन्त्रालयका सचिव जयमुकुन्द खनालले बताउनुभयो । निजी क्षेत्रको विकास, अनुसन्धानका साथै नेपाल र इजरायलबीच सहयोगका धेरै क्षेत्रमा छलफल भएको जानकारी दिँदै उहाँले भन्नुभयो “इजरायलबाट उच्च प्रविधि भित्र्याएर मुलुकको कृषि क्षेत्रको द्रुत विकास गर्न सकिन्छ ।” कृषिको आधुनिकीकरण एवम् व्यावसायीकरणमा इजरायलले सक्दो सहयोग गर्ने दृढता बैठकमा मन्त्री समिरले व्यक्त गरेको जानकारी पनि सचिव खनालले दिनुभयो । इजरायली मन्त्रीले आफ्ना समकक्षी पराजुलीलाई आगामी वैशाखमा आयोजना हुने कृषि प्रविधि मेलामा सहभागी हुन आमन्त्रणसमेत गर्नुभयो । कृषि तथा ग्रामीण विकासका साथै विदेश मन्त्रालयका उच्च अधिकारी र व्यापारी प्रतिनिधिमण्डलसहित १२ सदस्यीय टोलीको नेतृत्व गर्दै आजै अपराह्न मन्त्री समिर यहाँ आउनुभएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]