शेष घले दम्पत्तिले सुरु गरे एक अर्ब रुपैयाँको परोपकारी कोष, शिक्षा, स्वास्थ्यमा योगदान दिने


sheshगैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले रु एक अर्बको परोपकारी कोष स्थापना गर्नुभएको छ । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने गरी अध्यक्ष घले र उहाँकी श्रीमती जमुनाद्वारा अस्ट्रेलियामा स्थापित एमआइटी ग्रुप फाउन्डेसनले उक्त कोष स्थापना गरेको हो । फाउन्डेसनले सो कोषमार्फत नेपालका दुर्गम गाउँका विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नाका साथै स्रोतसाधनको अभाव भएका विद्यालयमा पुस्तकालय स्थापना, शिक्षण सामग्री र तालिमका लागि सहयोग गर्नेछ । पत्रकार सम्मेलनमा अध्यक्ष घलेले शिक्षा र स्वास्थ्य क्षेत्रमा विद्यमान पद्धतिको विकास गर्न र खासगरी छात्रवृत्तिमा लगानी गर्ने योजना रहेको बताउनुभयो । “नेपालमा अहिले पनि सर्वसाधारणको पहुँचमा आधारभूत स्वास्थ्य सुविधासम्म पुग्न सकेको छैन, समयमै उपचार नपाउँदा हामीले आफ्नै परिवारका सदस्य अकालमा गुमाउनुपरेको पीडा मैले अनुभूति गरेको छु, भोलिको नेपाली पुस्ताले आफूले जस्तै पीडा भोग्नु नपरोस् र निकै कम पैसामा पाइने औषधि र उपचारको अभावमा ज्यानै जाने अवस्था नआओस् भन्ने हाम्रो चाहना छ” फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ । करिब दुई दशकदेखि अस्ट्रेलियामा व्यवसाय गर्दै आएको घले दम्पतीले शिक्षा, पर्यटन र घरजग्गा कारोबार क्षेत्रमा लगानी गरिरहेको छ । घलेले केही समय अघिमात्र करिब रु आठ अर्बको लगानीमा शेराटन काठमाडौँ होटल निर्माण थाल्नुभएको छ । कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री नीलम केसीले रासससँग कुरा गर्दै गैरआवासीय नेपालीले मातृभूमिमा फर्केर यस किसिमको ठूलो लगानी गर्नु सराहनीय तथा नमुनायोग्य हो भन्दै यस्ताखाले लगानी भित्र्याउन अन्य गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]