दलित महिलालाई छोड्दै भाग्न थाले उपल्लो जातका श्रीमानहरु १


सुशील दर्नाल
रूपन्देही स्थायी घर भई हाल नयाँ बानेश्वर बस्दै आएकी कमला परियारले पाँच वर्ष पहिला आफूभन्दा उपल्लो जात श्रीकृष्ण आचार्यसँग विवाह गरिन् । पटकपटक lower casteविवाहका लागि जात मिल्दैन भनेर सुरुमै कमलाले सम्झाएकी हुन् । आचार्यले जातभातको कुनै वास्ता छैन् भन्दै भगाएरै विवाह गरे तर पछि जातीय कारण देखाउँदै बेपत्ता भए । कमलाले भनिन् – “एक वर्षसम्म प्रेम चलिरहँदा पनि मैले उहाँलाई सधँै सम्झाउने गर्थें, म दलितको छोरीलाई तपाइँको घरपरिवारले स्वीकार्दैन भनेर । उहाँले मान्नुभएन तर पछि जातीय कारण देखाउँदै उहाँ दुई वर्षदेखि बेपत्ता हुनुभएको छ ।” आफ्नो श्रीमान् श्रीकृष्णलाई भेटाउन कमलाले सक्दो प्रयास गरिन् तर कहीँकतै भेटिएन । अझै पनि उनकै आशमा हुनुहुन्छ कमला । ‘सँगै जिउने सँगै मर्ने’ कसम खाएका श्रीमान् बेपत्ता भएपछि सामान्य तरकारी पसल गरेर आफ्नो गुजारा चलाउँदै आएकी कमला अहिले वारि न पारिको भएको छ । कमला मात्र होइन्, सात वर्ष पहिला आफूभन्दा उपल्लो जातसँग विवाह गरेका सरिता विश्वकर्माको स्थिति पनि त्यस्तै छ । सरितालाई दलितको छोरी भन्दै घरमा भित्र्याउनुको सट्टा घरभित्रै छिर्नसमेत दिइएन । दुईवटा छोरा÷छोरी भइसकेपछि उनका श्रीमान्ले जातीय कारण देखाउँदै अर्को विवाह गरे । यसरी जातीय कारण देखाएर विवाह गरेको केही दिन, महिना वा वर्षमै अलपत्र पर्ने कमला र सरिता पात्र मात्र हुन् । पछिल्लो पटक यही मङ्सिर २२ गते सिन्धुपाल्चोक सिपापोखरे गाविसका १९ वर्षीय सन्तोष आचार्यले दलित भएको थाहा पाएपछि विवाह गरेको तीन दिनमै दलित युवतीलाई घर निकाला गरिदिए । वैदिक परम्पराअनुसार प्रेमविवाह गरेका आचार्यले काभ्रेदेवीटार गाविसका २० वर्षीया दलित युवती कल्पना रिजाल (विक)लाई घर निकाला गरिदिएका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी परेसँगै अहिले उक्त घटनालाई मिलापत्रमै सीमित गरिएको छ । यही असोजमा छिमेकी भीमबहादुर क्षेत्रीसँग प्रेमविवाह गरेका रोल्पा घोडागाउँ–७ की गायत्री विकलाई घरभित्र पस्न दिइएन । अहिले आफन्तले नै क्षेत्रीलाई बेपत्ता बनाएपछि गायत्रीको बिचल्ली भएको छ । यसरी आफूभन्दा तल्लो जातसँग भन्दा पनि उपल्लो जातसँग विवाह गरेर धेरै दलित युवती बिचल्लीमा पर्ने गरेको जागरण मिडिया सेन्टरले जनाएको छ । सेन्टरका अनुसार पछिल्लो पटक देशका विभिन्न स्थानमा दलित युवतीलाई विवाह गरेर केही दिनमै केटा बेपत्ता हुने घटना बढ्दै गएका छन् । माथि उल्लिखित घटनाहरूलाई हेर्ने हो भने गैरदलित युवकहरूले दलित युवतीसँग विवाहको नाटक गर्दा धेरै दलित युवतीको बिचल्ली हुने गरेको पाइएको छ । एकीकृत नेकपा (माओवादी) निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका सचिवालय सदस्य राजकुमार हिङमाङले सर्वहारा, गरिब, शोषित, पीडित वर्गको मुक्तिका लागि भन्दै राजनीति गर्ने राजनीतिकर्मीले नै पछिल्लो सयममा जातीय कारण देखाएर धेरै दलित महिलालाई बिचल्लीमा पारेको गुनासो गर्नुभयो । एकातिर सशस्त्र युद्धका क्रममा समाज परिवर्तनको उदाहरण दिन आफूभन्दा तल्लो जातसँग अन्तर्जातीय विवाह गरेका माओवादी नेता तथा कार्यकर्ताले नै अहिले जातीय कारण देखाउँदै सम्बन्धविच्छेद गर्ने गरेको पाइन्छ भने अर्कोतिर पीडित दलित युवती प्रहरीमा उजुरी दिन उनीहरूको समस्या सुनिँदैन, आलटाल गरिन्छ । यथेष्ट प्रमाण हुँदाहँुदै यो वा त्यो बहानामा प्रमाण नपुगेको भन्दै आलटाल गर्ने गरिएको पीडित दलित युवतीको भनाइ छ । यदि दलित अधिकारकर्मीको चर्को दबाबमा मुद्दा दर्ता नै गरियो भने पनि न्याय दिने गैरदलितले पीडितभन्दा पनि पीडकको पक्षमा फैसला गर्ने गरेको जागरणका अध्यक्ष रेमबहादुर विश्वकर्मा बताउनुहुन्छ । उहाँले भन्नुभयो – “जातीय भेदभाव तथा छुवाछूतका घटनालाई सकेसम्म गाउँमै मिलापत्र गर्ने गरिन्छ, यदि प्रहरी प्रशासनसम्म पुग्यो भने पनि कानुनअनुसार कारबाही गर्नुको सट्टा उल्टै त्यहाँ पनि दबाबै दबाबमा मिलापत्र गराइन्छ ।” दलित अधिकारकर्मी पदम सुन्दासका अनुसार नेपाली समाजमा गैरदलितले दलितसँग विवाह गरेर सफल भएका घटना अत्यन्त कम छन् । यदि सफल भए पनि आफूभन्दा तल्लो जातसँग विवाह गरेको भन्दै उसलाई कुलबाट निकालिने, आफ्नो बाबुको मृत्युमा क्रियापुत्रीसमेत बस्न नदिइने र मृत्युपछि दाजुभाइले शवसमेत नउठाउने उहाँको भनाइ छ । पश्चिम पाल्पाको मुझुङ–८ बाटुलीपोखरीका ६० वर्षे नारायण रानाले दलित विवाह गरेको भन्दै उनका दाजुभाइले उनको शवसमेत उठाएनन् । यो २०६६ साल असार १४ गतेको घटना हो । ओेरेक नेपालका अनुसार पछिल्लो समयमा मुुलुकभित्र बढ्दै गएको बलात्कारका घटनामा देशको कुल जनसङ्ख्याको सात प्रतिशत दलित महिला नै सिकार हुने गरेको पाइएको छ । दलित महिला सङ्घका अध्यक्ष दुर्गा सोवका भन्नुभयो – “ती दलित युवतीलाई बलात्कार गर्ने भट्टराई, अधिकारी, लामिछाने र कँडेल थरका गैरदलित नै हुन्, कस्तो विडम्बना । ती बलात्कृत हुने दलित युवतीको जीउ चल्छ तर पानी चल्दैन ।” यता, छुवाछूत अन्त्य गर्न ल्याइएको जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ लागू भइसक्दा पनि गैरदलितसँग प्रेम वा विवाह गरेकै कारण दर्जनौँ दलितको कुटपिट गरी हत्यासमेत गरिएको छ । ऐन आइसकेपछि आफूभन्दा उपल्लो जात (चौधरी) सँग प्रेम गरेको भन्दै सप्तरी जिल्ला पन्सेरा गाविस–३ निवासी शिव शंकरदासको विष सेवन गराई हत्या गरिएको घटना सर्वविदितै छ । त्यसैगरी, दैलेख जिल्ला तोली गाविस–२ धनीगाउँ निवासी सन्तबहादुर दमाईंले उपल्लो जात (शाही) सँग विवाह गरेको निहँुमा सन्तबहादुरका बाबु सेते दमाईंको हत्या गरियो । ऐनमा दण्ड सजायको व्यवस्था कमजोर भएको र कार्यान्वयन पनि फितलो भएका कारण गैरदलितले दलित महिलासँग विवाह गरेको केही दिनमै जातीय कारण देखाउँदै सम्बन्धविच्छेद गर्नेलगायत छुवाछूतका घटना झन् झन् बढ्दै गएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् जीवन परियारको भनाइ छ । अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रदान गरिँदै आएको प्रोत्साहन अनुदान रकम प्राप्त गर्न प्रशासनिक तवरबाट अत्यन्त झन्झटिलो भएको अन्तर्जातीय विवाहित जोडीले गुनासो गर्दै आएका छन् । सरकारले पटकपटक छुवाछूतमुक्त राष्ट्र घोषणा गरिसकेपछि पनि सदियौँदेखि समाजमा व्याप्त जातीय भेदभाव तथा छुवाछूतको समस्या अहिलेको आधुनिक समाजमा पनि कायम रहनु विडम्बनापूर्ण छ । भाषण र आश्वासनले मात्र यो विभेद मेटिन सक्दैन । यदि साँचो अर्थमा समाजमा व्याप्त छुवाछूत अन्त्य गर्ने हो भने दलित समुदायको कानुन तथा न्यायको क्षेत्रमा पहुँच वृद्धि गर्नुपर्दछ । छुवाछूतका घटनालाई तत्काल सम्बोधन गर्न सरकारी संयन्त्र प्रभावकारी बनाउनुपर्दछ । सरकारी तवरबाटै छुवाछूत अन्त्य गर्न देशभर चेतनामूलक अभियान सञ्चालन गर्नुपर्दछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]