श्राद्धमा खाना खाएर १५ जना बिरामी, एक जनाको मृत्यु

कैलाली । श्राद्धमा खाना खाएर १५ जना बिरामी भएका छन् । कैलालीको गोदावरी नगरपालिका–१० खमौरामा श्राद्धको खाना खाँदा उनीहरू बिरामी परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयले जानकारी दिए अनुसार १५ जना बिरामी हुनुका साथै एक जनाको मृत्यु समेत भएको छ । उनको मंगलबार साँझ मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार श्राद्धको खाना खाएर सुरेश बोहरा बिरामी भएको र उपचारका क्रममा उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

१५ जना बिरामीको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

भदाै २७ गते उनीहरूले श्राद्धमा खाना खाएका थिए । सेति अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराका अनुसार उनीहरूलाई फुड प्वाइजनिङ भएको हो ।