कोरोनाविरुद्धको ‘भ्याक्सीन’ नोभेम्बरसम्म सर्वसाधारणका लागि उपलब्ध हुने !

काठमाडौं । चीनमा विकास भइरहेको कोरोनाभाइरसविरुद्धको सम्भावित खोप आगामी नोभेम्बर महिनासम्म सर्वसाधारणका लागि तयार हुन सक्ने चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले जनाएको छ । चीनमा कोरोनाका ४ भ्याक्सीनमाथि रिसर्च भईरहेको छ । यी सबैको ट्रायल अन्तिम चरणमा रहेको छ ।
यी मध्ये तीन वटा भ्याक्सीन भने अत्यावश्यक कर्मचारीमा प्रयोग गरिसकिएको छ । जुलाईबाटै यो कार्यक्रम शुरु गरिएको थियो । सीडीसीका चीफ बायोसेफ्टी एक्सपर्ट गुईझेन वूले सरकारी टिभी च्यानलमा भने, ‘मैले आफैँ नै अप्रिलमा एक ट्रायलमा भाग लिएको थिएँ, अहिलेसम्म यसको केहि साइड इफेक्ट छैन ।’
सिनोफार्मले गत जुलाईमा आफ्नो खोप सर्वसाधारणको प्रयोगका लागि यो वर्षको अन्त्यसम्मका तयार हुने बताएको थियो । कोभिड–१९ विरुद्ध खोप तयार गर्न विश्वभरका औषधी निर्माता कम्पनीहरु लागिपरेका छन् ।