विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको औपचारिक बिदाइ

काठमाडाैँ । विद्युत् प्राधिकरणबाट वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाइ गरिएको छ । प्राधिकरणका कर्मचारीहरूले कार्य अवधि सकिएका घिसिङलाई औपचारिक बिदाइ गरेका हुन् ।
चार वर्षे कार्यकाल सकिएका घिसिङलाई मंगलबार प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले बिदाइ गरे । सो बिदाइ कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिए ।
उनको बिदाइ कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेल, उपकार्यकारी निर्देशक लेखनाथ कोइराला लगायतले घिसिङको कार्यकालको प्रशंसा समेत गरेका थिए ।
त्यस्तै, युनियनका अध्यक्ष रामेश्वर पाैडेलले ‘कुलमान घिसिङलाई नै पुनः स्वागत गर्न पाइयोस्’ भन्ने इच्छा समेत व्यक्त गरे ।
कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको छ । प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा घिसिङलाई नै नियुक्त गर्नुपर्ने माग चाैतर्फी रूपमा उठिरहेको छ । यद्यपी सरकारले यसबारे केही निर्णय लिएको छैन ।
मंगलबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकमा कुलमानको पुनर्नियुक्तिको प्रधानमन्त्री ओलीले कानुनी प्रश्न उठाएका थिए ।