दुई महिनापछि बल्ल अष्ट्रेलियामा दैनिक कोरोनाका कारण मृत्यु हुने संख्या शून्यमा

मेलबर्न, अष्ट्रेलया ।
अष्ट्रेलियामा कोरोनाको संक्रमण नियन्त्रण गर्ने सरकारी प्रयास सफलतातिर उन्मुख देखिएको छ । दुई महिनाभन्दा अघिको तथ्यांकमा पुग्दै सोमबार पहिलो पटक सरकारले कोरोना संक्रमणका कारण गएको २४ घण्टामा कुनैपनि मृत्यु नभएको सार्वजनिक गरेको छ । यससँगै हालसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ८ सय १६ मा सीमित भएको छ । यद्यपि, भिक्टोरियामा कोरोना सक्रमितको संख्या ४२ ले थपिएको छ भने अर्को राज्य क्वीन्सल्याण्डमा जम्मा एउटा नयाँ कोरोना भाईरसको संक्रमण देखिएको छ ।

२० जनाभन्दा बढी जम्मा भए सबैलाई जरिवाना

उता न्यूसाउथवेल्स राज्यले कोरोना संक्रमण फैलिन नदिन नयाँ नियम लागू गरेको छ । जस अन्तर्गत अब सार्वजनिक रुपमा २० जनासम्म भेला हुन पाउनेछन् । तर, यस्तोमा २० भन्दा बढी भेला भएको पाइएमा सबैजनालाई प्रतिव्यक्ति १ हजार डलरका दरले जरिवाना गरिनेछ । गएरातिबाट लागू भइसकेको यो नियमका बारेमा स्पष्ट पार्दै कोरोनाभाईरस अपरेशन कमाण्डर असिष्टेन्ट कमिश्नर टोनी क्रान्डेलले भने, समूदायको सुरक्षाका लागि हामीले यस्तो गरेका हौं । अब गर्मी सुरु हुँदैछ । चाडवाडको मौसम आउँदैछ । यस्तो बेलामा थप सतर्कता आवश्यक छ ।