मेलबर्नमा लकडाउनको विरोध गर्दै प्रदर्शन गर्नखोज्ने ७४ जना पक्राउ

मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको मेलबर्नमा लकडाउनको विरोध गर्ने ७४ जनालाई पक्राउ गरिएको छ । उनीहरुले चर्चित क्वीन भिक्टोरिया मार्केटमा भेला भएर लकडाउनको विरोध गर्दै फ्रिडमको नारा लगाएका थिए । त्यहाँ उपस्थित भएका २ सय ५० जनामध्ये १ सय ७४ जनालाई जरिवाना गरिएको छ । भिक्टोरियामा लकडाउनको नियम पालना नगर्नेहरुलाई १६ सय ५२ डलर जरिवाना गरिन्छ ।

बरउड निवासी एक ४४ वर्षीय पुरुषलाई यो प्रदर्शनको नेतृत्व गरेको आरोप लगाइएको छ । उनलाई गैरकानूनी कार्य गर्न उक्साएको अभियोग लगाइने भिक्टोरिया पुलिसका प्रवक्ताले जानकारी दिए । निजको घरमा छापामार्ने तयारी समेत भएको छ ।

यसअघिको सातामा भएको प्रदर्शनमा १५ जना पक्राउ परेका थिए । मेलबर्नमा चौथो तहको लकडाउन आगामी सेप्टेम्बर २८ तारिखसम्मकालागि लगाइएको छ । जसमा सार्वजनिक स्थलमा भेला हुन निषेध गरिएको छ भने मास्क नलगाई सार्वजनिक स्थलमा निस्किन पनि प्रतिबन्ध छ ।

यसअघि हिजो मात्रै पनि १४ जनालाई पक्राउ गरिएको थियो भने ५० जनालाई जरिवाना गरिएको थियो । यसैबीच, प्रहरीले गएको २४ घण्टामा २ सय जभन्दा बढी व्यक्तिहरुलाई लकडाउन नियम उल्लंघन गरेको अभियोगमा जरिवाना गरेको छ ।