प्रमुख राजनीतिक शक्तिका बीचमा सहमति जुटाउने कसरत जारी, आज दिनभरि पनि सर्वपक्षीय छलफल हुने


??????????????????????????????????संविधानका विवादित विषयमा सहमति जुटाउन शनिबार बसेको प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाको संयुक्त बैठकमा उल्लेख्य प्रगति हुन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा दिनभरिजसो जारी बैठकमा प्रमुख विवादित विषयमा सहमतिनजिक पुगेको तर उल्लेख गर्न लायक कुनै पनि ठोस प्रगति हुन नसकेको नेताहरूले प्रक्रिया दिनुभएको छ । यस्तै नेताहरूले सहमति नहुँदासम्म बैठकमा छलफल भएका विषयका बारेमा विवाद उत्पन्न हुने गरी कुनै पनि प्रतिक्रिया नदिने बताएका छन् । बैठकमा भएका छलफललाई आ–आफ्नै तवरले सार्वजनिक गर्दा थप विवाद उत्पन्न हुने र परिस्थिति बिग्रने भएकाले सहमति भएपछि सबै विषयलाई सार्वजनिक गर्ने अनौपचारिक सहमति गरेका हुन् । बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले छलफल सकारात्मक भए पनि कुनै ठोस प्रगति भने हुन नसकेको जानकारी दिँदै आइतबार पुनः दुईपक्षीय, त्रिपक्षीय र चारपक्षीय बैठक बस्ने र एउटा निष्कर्षमा पुगिने जानकारी दिनुभयो । ‘‘दिनभरको छलफल सकारात्मक दिशामा नै केन्द्रित छ, दलहरूबीच विश्वासको वातावरण बन्दै गएकाले आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने प्रयत्न गरिएको छ”– उपसभापति पौडेलले भन्नुभयो । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरूले सहमति जुटाउन नसकेकाले संविधानको मस्यौदा गर्ने जिम्मा आफूलाई दिन आग्रह गर्नुभएपछि जसरी भए पनि सहमति जुटाउनुपर्ने दबाबमा परेका दलहरूले सोमबारसम्म एउटा न एउटा निष्कर्षमा पुग्नै पर्ने बाध्यतामा रहेका छन् । शान्ति तथा पुनःनिर्माण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका कानुन, न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले छलफल अत्यन्तै सकारात्मक भएकाले सोमबारसम्म विवादित विषयमा सहमति कायम हुने विश्वास व्यक्त गर्नुभयो । छलफल जारी रहेका कारण अहिल्यै सबै विषयबाहिर लैजानुभन्दा पनि छलफलले विश्वासको वातावरण तयार पारेको र आगामी माघ ८ गते संविधान जारी हुने उहाँको कथन थियो । आज दिनभरि सर्वपक्षीय छलफल गरिने जानकारी दिँदै उहाँले सभाध्यक्षले दिनुभएको समय सीमाभित्र विवादित विषयमा सहमति हुन सक्ने आधार तयार भएको उहाँको भनाइ छ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले छलफलले नयाँ आशा पलाएको जानकारी दिँदै सत्तारुढ दलले ठूलो छाती बनाए सहमति हुने बताउनुभयो । उहाँले आजको छलफल सकारात्मक दिशामा नै केन्द्रित रहेको र आइतबारको बैठकले विवादित विषयमा एउटा ठोस धारणा दिने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र मधेसी मोर्चाको छुट्टाछुट्टै बैठक बसेको थियो । प्रमुख तीन दलको बैठक सकिएलगत्तै चारपक्षको बैठक बसेको र सभाध्यक्षले दिनुभएको समयसीमाभित्रै विवादित विषयमा सहमति जुटाउने प्रयत्नमा लागेको नेताको भनाइ छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]