एकमहिने स्वस्थानी व्रत प्रारम्भ, पार्वतीले व्रत बसेको अनुशरण


Sri Swasthaniप्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाङ्क्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएका कारण यसको महत्व रहँदै आएको छ । मनोकाङ्क्षा पूरा हुने प्राचीन जनविश्वासले नै सर्वसाधारणको स्वास्थानी व्रतप्रतिको आकर्षण भएको पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले बताउनुभयो । मध्याह्नकालमा स्वस्थानी देवीको पूजाआजा हुने भएका कारण भोलि र पर्सि दुवै दिन पूर्णिमा तिथि परे पनि भोलि मध्याह्नकालमा पूर्णिमा तिथि परेका कारण भोलिदेखि व्रत आरम्भ हुने भएको उहाँले जानकारी गराउनुभयो । स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको हो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको पाणिनी ज्योतिष सेवा केन्द्र कलङ्कीका सञ्चालक उमानाथ पोख्रेलको भनाइ छ । पौष शुक्ल पूर्णिमादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत आरम्भ गरिने र एक महिनासम्म मध्याह्नको समयमा भगवान् शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजा–आराधना गरिने प्रचलन रहेको उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार व्रतालुहरूले पूजा–आराधनापछि स्वस्थानीको माहात्म्य वाचन र श्रवण गर्ने गर्छन् । व्रत अवधिभरि शारीरिक एवम् मानसिक रूपमा शुद्ध बनी मध्याह्नकालमा एकपटक मात्र भोजन गर्ने गर्छन् । विधिपूर्वक व्रत नबस्नेले पनि आ–आफ्नो घरमा बिहान वा बेलुकी स्वस्थानीको कथा वाचन एवम् श्रवण गर्दछन् । पौष शुक्ल पूर्णिमामा सुरु हुने व्रत एक महिनापछि अर्थात् माघ शुक्ल पूर्णिमाको दिन समापन गरिने र उक्त दिन सम्पर्र्ण पूजा सामग्रीसहित स्वस्थानी परमेश्वरीलाई चढाउन विशेष वस्तुहरू १०८ को सङ्ख्यामा हुने यस व्रतको अर्को मौलिकता रहेको पण्डित माधवप्रसाद सापकोटा बताउनुहुन्छ । समापनका क्रममा अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी एवम् मौसम अनुसारका फलफूल सबै १०८ का दरले चढाई शिवलिङ्गसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिने उहाँले जानकारी गराउनुभयो । पूजा सम्पन्न भएपछि जुन कामनाले व्रत गरिएको हो त्यो पूरा होस् भन्दै अर्घ दिई व्रतको समापन गरिने उहाँले बताउनुभयो । स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थस्थल विशेषगरी काठमाडौँभित्रै रहेका छन् । कथाका विभिन्न प्रसङ्गमा आएका गुह्येश्वरी, गोकर्र्ण, श्लेष्मान्तक वन, किराँतेश्वर, गौरीघाट, बागमती नदी, शाली नदीजस्ता क्षेत्र यहीँ पर्ने हुनाले पनि नेपाली समाजमा यसले बढी महत्व पाएको सापकोटाको भनाइ छ । राजधानीदेखि १७ किलोमिटर उत्तर पूर्वमा रहेको प्राचीन नगर शङ्करापुर (साँखु)मा रहेको शाली नदी किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजाआराधना गर्दै व्रत बस्ने परम्परा छ । स्वस्थानी व्रतकथामा लेखिएका लावण्यदेश अर्थात् साँखु शाली नदीमा एक महिनासम्म मेला लाग्दछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]