जसरी पनि माघ ८ गते संविधान ल्याउन अघि बढेको दुई उपप्रधानमन्त्रीको दाबी


bamdevउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधानका विवादित विषयमा दलहरुबीच सहमति नभए प्रक्रियामा गएर भएपनि आफ्नो पार्टी माघ ८ मा लोकतान्त्रिक संविधान जारी गर्ने गरी अघि बढेको बताउनु भएको छ । काँग्रेसको केन्द्रीय दलित विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘दलित समुदायको उत्थान र विकासको लागिःनेपाली काँग्रेसको राष्ट्रिय अभियान’ विषयक दुई दिवसीय अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत रहनुभएका मत्रहामन्त्री सिंहले सो कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले संविधान जारी गर्न अब मात्र २१ दिन मात्र बाँकी रहेको र यस महत्वपूर्ण घडीमा दलहरुबीच संविधानका विवादित विषयमा सहमति नभए निर्धारित मितिमै संविधान जारी गर्न आफ्नो पार्टीले नियमावलीअनुसार प्रक्रियामा जाने निर्णय गरेको जानकारी दिनुभयो । स्थापनाकालदेखि नै आफ्नो पार्टी दलित एवम् उत्पीडितका पक्षका रहेको बताउँदै काँग्रेस महामन्त्री सिंहले दलितप्रतिको विभेद्कारी नीतिका विरुद्ध काँग्रेसले घोषणापत्रमा उल्लेख गर्नुका साथै पार्टीको तल्लो इकाइसम्म दलित उत्पीडित वर्गको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था गरेको अवगत गराउनुभयो ।कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता दीलेन्द्रप्रसाद बडूले अब बन्ने संविधानले मात्र दलित उत्पीडितलगायत हकअधिकारलाई संस्थागत गर्ने बताउनुभयो । साथै प्रवक्ता बडूले सङ्घीयताका सवालमा जातीय अग्राधिकारका कुराले राष्ट्रियता बलियो नहुने भन्दै अहिले संविधान निर्माणमा अनेकतामा एकताको सद्भावको खाँचो रहेकामा जोड दिनुभयो ।

उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य तथा सङ्गठन विभाग प्रमख आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य एवम् सभासद् दिलबहादुर घर्ती, बद्री पाण्डे, धनराज गुरुङ, जीवन परियार, कविताकुमारी सरदार, सभासद् खडग बस्याल, दलित नेताहरु प्रतामराम लोहार, पदमसिंह विश्वकर्मा, विजुल विश्वकर्मा, मुक्तबहादुर महत, प्रकाश स्नेहीले दलित समुदायको उत्थान र विकासको लागि काँग्रेसको अभियानका बारेमा बोल्नुभएको थियो । दुई दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रममा मध्यमाञ्चल क्षेत्रका १० जिल्लाका सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।््

गौतम पनि त्यही भन्छन्

उपप्रधानमन्त्री वामदेव गौतमले घातक विचार राख्नेहरुले संविधान जारी हुन नदिन जतिसुकै प्रपञ्च गरे पनि पनि आगामी माघ ८ गते नेपाली जनताले संविधान पाउने निश्चित भएको बताउनुभएको छ । नेकपा (एमाले)को केन्द्रीय कार्यक्रमअनुसार आज यहाँ आयोजित बाँके जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा  एमालेका उपाध्यक्ष गौतमले संविधान निर्माण हुन नदिन गैरराजनीतिक मोर्चाबन्दी गरिएको आरोप लगाउँदै  नेपाली जनताको अधिकारसहितको संविधान जारी हुनबाट अब कसैले रोक्न सक्दैनन् भन्नुभयो । “संविधानसभा बैठकबाट मतका आधारमा प्रक्रिया पु¥याएर संविधान जारी हुन्छ”गृहमन्त्री गौतमले भन्नुभयो–“कसैले च्यात्छु, जलाउछुँ भन्दैमा संविधान जल्दैन, नेपाली जनताको अधिकार जल्दैन, च्यातिँदैन ।” सहमतिका आधारमा संविधान निर्माण गर्न एकीकृत नेकपा (माओवादी)लाई संवैधानिक राजनीतिक संवाद तथा सहमतिको अध्यक्षको जिम्मेवारी दिइएकामा सो दलले त्यति महत्वपूर्ण पदलाई संविधान निर्माण हुन नदिने हतियारका रुपमा प्रयोग गरेको आरोप उहाँले लगाउनुभयो । “मुलुकको रक्षा, जनताको सार्वभौम अधिकारको सुनिश्चितता, जनताको सामाजिक, आर्थिक विकास र समृद्ध नेपाल निर्माणका लागि अब मुलुकलाई संविधानविहीन अवस्थामा राख्न सकिँदैन”–उहाँको भनाइ थियो । दोस्रो संविधान निर्वाचनपछि संविधानसभा बैठकमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले एक वर्षमा संविधान निर्माण गर्ने भनेर मिति तय गरेको स्मरण गराउँदै उहाँले अहिले आएर संविधान निर्माण हुन नदिन ३० दलको नाममा मोर्चाबन्दी गर्न पाइन्छ र  भनी प्रश्न गर्नुभयो । गृहमन्त्री गौतमले माघ ८ गते नेपाली जनताले संविधान पाउने निश्चित भएको बताउँदै जारी हुने संविधानमा केही विषय टुङ्ग्याउन बाँकी छन् भने व्यवस्थापिका –संसद्बाट टुङ्ग्याइने छ भन्नुभयो । सो दलका जिल्ला अध्यक्ष अशोक कोइरालाको सभापतित्वमा भएको भेलामा सभासद गौरा प्रसार्इं, दलबहादुर सुनार र दिनेश यादवले जनताको धैर्यको बाँध टुट्नु अगावै संविधान जारी हुनुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]