नेपालमा कोरोना संक्रमण मुक्त हुने दर बढ्यो

काठमाडाैँ । नेपालमा कोरोना संक्रमित निको हुने दर बढेको छ । केही हप्ता अघिसम्म घट्दै गएको संक्रमित निको हुने दर पछिल्ला दिनमा बढ्दै जान थालेको हो ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो हप्ता कोरोना संक्रमण हुनेको दर ६२ दशमलव ३ प्रतिशत पुगेको छ । त्यसभन्दा अघि सो दर ५४ प्रतिशत रहेको थियो ।

नेपालभर हिजो एकै दिन एक हजार आठ सय १४ जना निको भएका छन् । जुन एकै दिन कोरोना संक्रमण मुक्त हुनेको अहिलेसम्म कै धेरै हो । योसँगै नेपालका कुल सङ्क्रमित ४६ हजार दुई सय ५७ जनामध्ये २८ हजार नौ सय ४१ जना निको भैसकेका छन् ।

कोरोना मुक्त हुने दर साउन १५ मा सबैभन्दा राम्रो रहेको थियो । त्यतिबेला संक्रमण मुक्त हुने दर ७२ प्रतिशत थियो । तर, त्यसपछि यो दर निरन्तर खुम्चिरहेको छ ।

त्यसै गरी कोरोना संक्रमितको संख्या प्रति दिन बढ्दै जाँदा मृतकको संख्यामा पनि वृद्धि हुन थालेको छ ।