महामारीबीच पनि शैक्षिक क्षेत्रमा देखिएको एउटा उज्यालो संकेत

मे आई कम ईन ! शिक्षक कक्षाकोठामा पसिसकेपछिको अर्थात् नयाँ कक्षा शिक्षणको सुरु दिन जब विद्यार्थीहरु कक्षा सुरु भएको करिब 10 मिनेटसम्म कक्षाकोठामा प्रवेश गर्ने र प्राय: सबैले रटान गरेको वा एकै मिलान व्यहोराको ‘मे आई कम ईन!’ रिङ्गटोन कुनै पनि शिक्षकको लागि नौलो विषय हुन सक्दैन, यो एक औपचारिक कक्षा-शिक्षणको वा शिक्षण कार्यको सबैभन्दा महङ्गो क्लासिक क्षण नै हो।

विद्यार्थीहरुलाई सिकाउन जब कुनै शिक्षक कक्षाकोठामा प्रवेश गर्थ्यो र ज्ञानको मूलको रुपमा शिक्षकलाई हेरिने अनि घेरिने गरिन्थ्यो।शिक्षकले प्रयोग गर्ने धेरै शैक्षिक सामग्रीहरु कक्षाकोठामा परिचालित हुन्थे।शिक्षक र विद्यार्थी विभिन्न भूमिकामा देखिन्थे।कक्षाकोठामा वा कक्षाबाहिर थुप्रै कृयाकलापहरु हुन्थे विगतका दिनहरुमा।शैक्षिक जगतमा तत्कालीन समयमा प्रयोगमा ल्याईएका विधि तरिका वा प्रक्रियाहरु पक्‍कै पनि तत्कालीन परिवेशअनुसार नै थिए।सोही अनुसार शैक्षिक प्रक्रिया सञ्चालनमा थियो र लाभग्राही नै सावित रह्यो।तर हाल आएर अर्थात सन् 2019 बाट नै चीनको वुहानबाट सुरु भएको कोभिड-19 को विश्वव्यापी महामारीपछि बिश्‍वकै शैक्षिक प्रणालीमा निकै उथलपुथल गरायो।केही स्थानमा केही समय विद्यालय सञ्चालन गरिए फेरि बन्द गरिए र हालसम्म पनि प्रभावित छन्।केही राष्ट्रहरुले पुरानो शिक्षण सिकाइ क्रियाकलापलाई परिमार्जित गरी वा समयसापेक्ष परिवर्तन गरी भर्चुअल कक्षासिकाइको माध्यमबाट शैक्षिक कृयाकलापहरु सञ्‍चालनमा ल्याएको अवस्था छ।तर अब वर्तमान समयमा त्यो पुरानो शिक्षण सिकाइ क्रियाकलापमा पूर्णतया पहिलाको अवस्थामा फर्किन सकिने कुरा निकै टाढाको कुरा हुन पुगेको छ।

यसै सन्दर्भमा हेर्दा शैक्षिक मापन तथा मूल्याङ्कनको क्षेत्रमा परम्परागत प्रवृत्तिहरु विस्थापित हुने र नवीनतम प्रवृत्ति स्थापित हुने क्रम जारी छ।एकातिर शैक्षिक मापन र मूल्याङ्कनको प्रचलित एवं मुख्य साधन भौतिक रुपमा रहेको कक्षा शिक्षण र सोको मूल्याङ्कनार्थ भौतिक उपस्थिति सहितको लिखित परीक्षालाई प्रयोगमा ल्याइने गरेको अवस्था थियो तर, हालको व्यक्तिगत वा सामाजिक दूरी कायम गर्नु पर्ने अवस्था रहेको यस महामारीले त्यसलाई विस्थापित गरेको छ र विद्यार्थीहरुको शैक्षिक वर्ष नै खेर जाने अवस्थामा छ भने, अर्कोतिर शैक्षिक जगत्‍मा थुप्रै नवीन संभावना र चुनौतीको रुपमा विज्ञान र प्रविधिको विस्फोटनसंगै ज्ञानात्मक पक्षभन्दा सीप सिकाइलाई बढी महत्त्व प्रदान गर्नुपर्ने अवस्था देखिनु स्वभाविक नै छ।जसले विद्यार्थीहरुलाई उनीहरुको बाँकी जीवनमा भर पर्ने ज्ञान, सीपको आधार प्रदान गरी उनीहरुलाई परिवर्तित संसारमा परिवर्तनीय हुनुपर्ने तथा बदलिरहेका परिदृश्यहरुलाई प्रतिकृयामा रुपान्तरण गराउन सकेमा यो मात्र उपलब्धिमूलक हुनेछ।
आजभोलि विभिन्न सकारात्मक भूमिकामा देखिने विद्यार्थीहरुमध्ये केहीले विभिन्न सञ्चार माध्यममा शैक्षिक क्षेत्रका विभिन्न ट्रोल बनाई विरोध प्रदर्शन गर्ने गरेको अवस्थाले के चित्रण गर्दछ भने शैक्षिक क्षेत्रमा समयानुकूल परिवर्तन हुन सकेको छैन अर्थात् शैक्षिक वातावरण कमजोर भएको नै हो।

हामीले तत्काल प्रयोगमा ल्याएको अनलाईन कक्षा, एवं भिडियो कन्फ्रेन्स विद्यार्थीहरुलाई सुरुमा‘निकै टाढा कसैलाई भेट्नु’जस्तै अचम्मको कुरा लागेजस्तो देखिएको भए तापनि यसो भनिरहँदा समयानुकूल कुनै परिवर्तन नै नभएको भने चाँही होइन।वर्तमान समयमा कक्षाकोठाका अगाडी परम्परागत व्याख्यान विधिभन्दा परियोजनात्मक क्रियाकलापहरु सञ्‍चालित हुदै गइरहेका छन्।होमस्कुलिङ्ग नामाकरण गरी कतिपय शैक्षिक संस्थाहरुले सहजिकरण गरेको र अभिभावकहरुले आफ्ना बच्चाहरुलाई अनलाईन क्लासतिर आकर्षित गराउदै लगेको र बच्चाहरुले पनि उक्त कार्यविधि बढी रोज्न थालिसकेका छन्।तर नेपालको भौगोलिक आधारमा तथा चौतर्फी रुपमा इन्टरनेट र अन्य उपकरणहरुको सहज आपूर्ति लगायतका पक्षहरुले अनलाईन कक्षा सञ्चालन गर्न भनेजस्तो सजिलो नभएको कुरा सुरुवाती समयमा भए तापनि समय परिस्थितिअनुरुप यसमै नढल्किनुको विकल्प पनि त छैन। त्यसैले अब विद्यार्थीहरुलाई यसतर्फ आकर्षित गराइ कक्षाको भविष्य मजबुत बनाउदै लैजानुपर्ने देखिन्छ।यहाँनेर अब सुधार गर्नुपर्ने विषय के देखिन्छ त भन्दा यदि अनलाईन क्लासको कुनै विषय प्रभावकारी रुपमा सिकाउन असमर्थ भए वा सकिएन भने मात्र फेस-टु-फेस क्लासहरु पुरकको रुपमा प्रयोग गर्ने गरी शैक्षिक कृयाकलापहरु अगाडि बढाउने क्रम आजैबाट सुरु गर्दा उपलब्धिमूलक हुने देखिन्छ।

शैक्षिक क्षेत्र एक प्रणालीको रुपमा रहेको हुँदा शिक्षक, विद्यार्थीहरु, पाठ्यक्रम लगायतका पक्ष आगतसँग रहेका हुन्छन् भने शिक्षण सिकाइ क्रियाकलाप प्रोसेसिङको रुपमा रहन्छ जुन प्रोसेसिङको माध्यमलाई मात्र समयानुसार परिवर्तन गरी फरक वा भर्चुअल माध्यममा ढल्किनु नै कक्षाको सफल भबिष्य हुन सक्छ।जसको प्रयोगको प्रभावकारिता हेरी विद्यार्थीका उपलब्धी, पाठ्यक्रमको प्रभावकारीता, प्रशासनीक कुसलता, शैक्षीक उत्पादन र प्रक्रिया आदीको मूल्याङ्कन गर्न सकिने देखिन्छ।

त्यसैले हामीमाझ अब तत्कालको विकल्प भनेको शैक्षिक क्षेत्रको आर्टिफिसियल इन्टेलिजेन्स र नयाँ पेडागोजी नै प्राथमिक प्राथमिकता हो। जसको प्रयोगसँगै नयाँ अन्वेषण विकास गरी सोको माध्यमबाट विद्यार्थीहरुलाई अपेक्षित उपलब्धिसहितको प्रमाणपत्र लिन मदत पुगोस्।त्यसैले यस प्रविधियुक्त पेडागोजीलाई वर्तमान समयमा एक अवसरको रुपमा प्रयोग गराउदै जानुपर्ने हुन्छ।यसैलाई आत्मसाथ गर्न सके मात्र शैक्षिक क्षेत्रमा भनेजस्तो नतिजा सुरुवाती समयमा नआए तापनि केही समयपछि सबै यस्तै प्रक्रियामा अभ्यस्त भैसक्दछन् र एक दशक पछिको शैक्षिक क्षेत्रको भविष्य एक कफी गफ जस्तै साच्चिकै मिठो हुनेमा विश्वस्त रहन सकिन्छ।