नेपालको जनसंख्या बृद्धिदर घट्यो, दोब्बर हुन ५१ वर्ष लाग्ने


nepaliराष्ट्रिय जनगणना २०६८ को समग्र तथ्याङ्क विश्लेषण गरिएको जनसङ्ख्या विस्तृत विवरण नेपाल २०१४ आज यहाँ सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा यज्ञबहादुर कार्कीले जनसङ्ख्या विस्तृत विवरण नेपाल र जनसङ्ख्या सूचना सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय जनगणना २०६८ का विभिन्न तह र क्षेत्रका अन्तिम नतिजाको आधारमा तयार पारिएको सो प्रतिवेदनले विकास निर्माण प्रक्रियालाई अगाडि बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ । मोनोग्राफलाई तीन छुट्टाछुट्टै भागमा प्रकाशित गरिएको छ । पहिलो भागमा जनसाङ्ख्यिक विशेषताहरूको विश्लेषण गर्दै जनसङ्ख्याको विविध आयामको व्याख्या गरिएको छ । दोस्रो भागमा जनसङ्ख्याको जातजाति, भाषा, धर्मलगायतका सामाजिक विशेषताको विश्लेषण गरिएको छ । त्यसमा जनसङ्ख्याशास्त्रको रुपमा र तेस्रो भाग जनसङ्ख्याको आर्थिक क्रियाकलापका विविध पक्षबारे विश्लेषण गरिएको विभागले जनाएको छ । नेपालको जनसङ्ख्याको इतिहासमा भएको परिवर्तन र यसले अन्य क्षेत्रमा पार्न सक्ने प्रभावबारे विश्लेषण गरी नीतिगत सुझावसमेत सरकारलाई दिइएको विभागका महानिर्देशक विकास विष्टले जानकारी दिनुभयो । योजना, नीति तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका लागि आवश्यक सूचक प्राप्त हुने भएकाले सरकारी तथा गैरसरकारी क्षेत्रको लागि तथा अनुसन्धानकर्ता तथा विद्यार्थीका लागिसमेत मोनोग्राफ विशेष महत्वको हुने उहाँको भनाइ छ । पछिल्लो जनगणनाअनुसार विगत छ दशकमा सबैभन्दा कम अर्थात १.३५ प्रतिशत मात्रै जनसङ्ख्या वृद्धिदर भएको र यही जनसङ्ख्या कायम रहे नेपालको जनसङ्ख्या दोब्बर हुन ५१ वर्ष लाग्ने देखिन्छ । विसं २०६८ को जनगणनाअनुसार नेपालको जन्मदर इतिहासमै कम पाइएको छ । विगत एक दशकमा प्रतिहजार जनसङ्ख्यामा २२ बच्चा हरेक वर्ष थपिएको र प्रतिहजार जनसङ्ख्यामा सात जनाको मात्रै मृत्यु भएको देखिन्छ । विभागकाअनुसार प्रति महिला हाल २.५२ जना बच्चा जन्मिएको देखिन्छ । यो जन्मदर ग्रामीण र सहरी क्षेत्रमा भिन्नभिन्न देखिन्छ । सहरी क्षेत्रमा एउटी महिलाले औसतमा दुई वटाभन्दा कम सन्तान जन्माएको देखिन्छ भने ग्रामीण क्षेत्रमा करिब तीन बच्चा जन्माएको देखिन्छ । विवाह गर्ने औसत उमेरमा वृद्धि भएको, धेरै युवा विदेशिएका कारण जन्मदरमा कमी आएको विभागको भनाइ छ । नेपालीको औसत आयु ६७ वर्ष पुगेको छ भने भक्तपुर, ललितपुर, कास्की, काठमाडौँ र चितवनमा जन्मेका बच्चाको आयु धेरै र मध्यपश्चिमका पहाड र मध्य तराईमा औसत आयु कम रहेको पाइएको छ । साक्षरता, घरमा चर्पीको व्यवस्था, इन्धन, विद्युतको प्रयोग आदिको सन्दर्भमा सहरी र ग्रामीण क्षेत्र एवम् विकास क्षेत्रमा भिन्नता देखिन्छ । मध्यपश्चिमको हिमाल, पहाड एवम् मध्य तराईको समग्र आर्थिक सामाजिक अवस्था सापेक्षतामा कमजोर रहेको छ । विसं २०२८ को जनगणनामा आधारित रहेर २०३३ सालमा पहिलोपटक मोनोग्राफ तयार पारिएको थियो । आज प्रकाशित मोनोग्राफ पाँचौ हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य विमला पौडेल राई, भारतेन्द्र मिश्र, डा यज्ञबहादुर कार्की, डा गोविन्द नेपाल र स्वर्णिम वाग्लेले विकास निर्माण, भौतिक पूर्वाधारको विकास, शिक्षा स्वास्थ्यलगायतका सुविधा उपलब्ध गराउन सरकारलाई मोनोग्राफले सहयोग गर्ने धारणा राख्दै आगामी दिनमा सहज योजना बनाउनसमेत प्रतिवेदन सहायक हुने बताउनुभयो । आयोगका सदस्य मिश्रले सरकारी तथ्याङ्कअनुसार करिब ७० लाख युवा विदेशमा रहेको पाइएपनि विभागको पछिल्लो जनगणनामा १९ लाख मात्रै बाहिर रहेको भन्ने तथ्याङ्क गलत भएको टिप्पणी गर्नुभयो । युवा विदेशिएकाले जनसङ्ख्याको दरमा परेको नकारात्मक प्रभावलाई कम गर्न पनि स्वदेशमा नै रोजगारीको वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नेपाल प्रतिनिधि जुलिया भालिसीले नेपालको विकासका लागि महत्वपूर्ण मानिएको मानोग्राफ तयार पार्न सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको जानकारी गराउँदै राष्ट्रसङ्घीय तथ्याङ्क महाशाखाबाट स्वीकृत र विश्वव्यापी रुपमा प्रयोग हुँदै आएको प्रणालीलाई अवलम्बन गरिएकाले तथ्याङ्क उल्लेखनीय रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]