भारतमा टाटा समूहले सुरु गर्यो नयाँ बिमान कम्पनी, भविष्यप्रति आशावादी


tataभारतमा प्रतिद्वन्द्वी विमान सेवाहरूले घाटा व्यहोरिरहेको समयमा नयाँ विमानसेवाले सोमबार आफूले आउँदो महिनादेखि उडानसेवा आरम्भ गर्ने र आफू भविष्यप्रति आशावादी भएको जानकारी दिएको छ । नयाँ विमानसेवाको नाम विस्तार रहेको छ । यसले आफ्नो पहिलो उडान जनवरी ९ देखि आरम्भ गर्ने जानकारी दिएको छ । यस विमानसेवाको ४९ प्रतिशत अंश सिङ्गापुर एयरलाइन्सले लिएको छ । यो विश्वको सबैभन्दा राम्रो विमानसेवामध्ये एक हो । मुम्बईमा केन्द्रीय कार्यालय रहेको टाटा समूहले बाँकी ५१ प्रतिशत अंश लिएको छ । भारतमा टाटालाई सबैभन्दा राम्रो ब्रान्डमध्ये एक मानिन्छ । चुनौती भएको कुरामा कुनै शङ्का नभए पनि आफूहरू आशावादी भएको र भारतको उड्डयन बजारको व्यापक सम्भावनालाई आफूहरूले विश्वास गरेको विस्तारका कार्यकारी प्रमुख फी टिक योले पत्रकारलाई बताए । सिङ्गापुर एयरलाइन्सका पूर्व वरिष्ठ कार्यकारी अधिकृत ४७ वर्षीय योले सरकारबाट उडान सञ्चालन अनुमति प्राप्त गरेपछि आफू निकै खुसी भएको बताउनुभयो । भारतको उड्डयन बजारलाई निकै नियन्त्रित बजारको रूपमा लिइन्छ । विमानसेवाका विश्लेषकहरूले भारतमा न्यून लागतको विमानसेवाको भविष्य रहेको बताए पनि योले यहाँ पूर्ण सेवाका विमानसेवाको भविष्य पनि भएको बताउनुभयो । उहाँले आफूहरूले भारतमा उडानको अनुभवलाई पुनः व्याख्या गर्ने र व्यक्तिगत यात्राको माग सिर्जना गर्ने बताउनुभयो । उहाँले हाल यस प्रकारको बजार नभएको बताउँदै यसले भारतको यात्रा बजारलाई विस्तार गर्ने बताउनुभयो । विस्तारले १४८ स्थानको ए३२०–२०० विमान सञ्चालन गर्नेछ र यसमा १६ स्थान व्यापारिक बर्गका लागि र ३६ स्थान प्रेमियम वर्गका लागि तोकिएको छ । ९६ स्थान मितव्ययी ग्राहकका लागि छुट्याइएको छ । उडान आरम्भ गरेपछि भारतमा एयर इन्डिया र जेट एयरवेजपछि तेस्रो पूर्ण सेवाका विमान सेवा सञ्चालनमा आउनेछन् । बाँकी दुई विमानसेवाले निकै घाटा व्यहोरेको देखिएको छ । नयाँ विमानसेवाले दिल्ली–मुम्बई उडान आरम्भमा गर्नेछ भने त्यसपछि पश्चिमी नगर अहमदावादलाई आफ्नो सेवामा थप्नेछ । हाल यस सेवमा दुई एयरबसको सेवा रहनेछ । एक महिनापछि यस विमानसेवासँग पाँच विमान रहनेछ भने आउँदो चार वर्षमा यससँग २० एयरबस विमान रहनेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]