अधिकारीको अन्येष्टि र काजक्रियाको वातावरण बनाउन सरकारलाई आयोगको निर्देशन


adhikariराष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनका क्रममा निधन भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको तत्काल अन्तेष्टि र काजक्रिया गर्ने वातावरण बनाउन आग्रह गरेको छ । आफ्नो छोराको हत्यासम्बन्धी घटनाका दोषीहरूलाई फौज्दारी अभियोगमा मुद्दा चलाउन माग गर्दै वीर अस्पतालमा अनशनमा रहेका अधिकारीको गत असोज ६ गते निधन भएको थियो । उहाँका छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन विद्रोही नेकपा–माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेको र सो घटनापछि उहाँको परिवार आन्तरिकरूपमा विस्थापित भई न्याय प्राप्तिका लागि लामो समयसम्म सङ्घर्षरत् रहेकै अवस्थामा उहाँको मृत्यु हुनु र हालसम्म सांस्कृतिक परम्पराअनुसार उहाँको दाहसंस्कार हुन नसक्नु मानव अधिकारको दृष्टिकोणले दुःखद् र दुर्भाग्यपूर्ण अवस्था रहेको आयोगले जनाएको छ । सरकारले गत असोज ३१ गते अधिकारीकी धर्मपत्नी गङ्गामाया अधिकारीसमक्ष उहाँको पतिको स–सम्मान दाहसंस्कार गर्ने र छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई अविलम्ब कारबाही गर्नेलगायतका पाँचबुँदे लिखित प्रतिबद्धता गरेको थियो । आयोगले नेपालको अन्तरिम संविधान, २०६३’ को धारा २३ को धर्मसम्बन्धी हक र ‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि’को धारा २७ मा उल्लिखित धार्मिक तथा सांस्कृतिक अधिकारसम्बन्धी प्रावधानअनुरूप उहाँको धार्मिक परम्पराअनुसार दाहसंस्कारका लागि आवश्यक वातावरण बनाउन सरकारलाई ध्यानाकर्षण गराएको प्रवक्ता मोहना अन्सारीले जानकारी दिनुभयो । आयोगले सो घटनाको दोषीमाथि कारबाही चलाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारलाई २०६४ चैत २३ गते सिफारिस गरेको र सो हत्या प्रकरणसम्बन्धी अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिँदै आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई २०७० साउन २८ गते पत्राचार गरेको पनि स्मरण गराएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]