समयमै संविधान दिन प्रतिपक्षी दलसँग घनिभूत छलफल गर्ने काँग्रेस एमालेको निर्णय


???????????????????????????????????नेपाली काँग्रेस र नेकपा(एमाले)ले संविधान निर्माणको विषयमा प्रतिपक्षी दलसँग ठोस छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकले संविधान जारी गर्ने समय नजिकिदै गरेको भएपनि हालसम्म विवादित विषयमा सहमति जुट्न नसकेकाले एकीकृत नेकपा(माओवादी) र मधेसी दलहरुसँग अन्तिम र निर्णायक छलफल गर्ने निर्णय गरेको हो । जनताका सामु गरेको प्रतिबद्धता र निर्वाचनको क्रममा जारी गरेको घोषणापत्रमा एक वर्षभित्र संविधान दिने भनेर गरिएको प्रतिवद्धतालाई व्यवहारमा नै कार्यान्वयन गर्न अत्यन्तै लचकताका साथ प्रस्तुत हुने निष्कर्षसमेत बैठकले निकालेको छ । विवादित विषयलाई सकेसम्म सहमतिमा नै टुङ्ग्याउने र त्यसो हुन नसके प्रक्रियामा गएर पनि संविधान दिनुपर्नेमा दुई दल सहमत भएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी र मधेसवादी दलसँग निरन्तर संवाद गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । “सहमतिमा नै संविधान जारी गर्न सबै पक्षसँग घनीभूत छलफल गर्ने र विवादित विषयलाई टुङ्गो लगाउने विषयमा दुई दल सहमत भएका छौँ । शनिबार चार दलको बैठक बोलाइने र सहमतिका लागि प्रयत्न गरिने सहमति पनि दुई दलको बीचमा भएको छ”–उपसभापति पौडेलले भन्नुभयो । उहाँले आफूहरु सहमतिमा नै संविधान जारी गर्न प्रयत्नशील रहेको तर सहमति हुन नसके प्रक्रियामा जानुको विकल्प आफूहरुसँग नभएको उहाँको भनाइ थियो । नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले माघ ८ गते आउन एक महिना समय बाँकी रहेको सन्दर्भमा संविधानमा देखिएका विवादित विषयलाई सहमतिमा नै टुङ्ग्याउनुपर्नेमा आफूहरु कटिबद्ध रहेको जानकारी दिनुभयो । सहमति नै नहुने स्थिति आए जनमतलाई सम्मान गर्दै मतदानमा गएर भए पनि संविधान जारी गर्नु तयार रहने ठहरसमेत बैठकले गरेको उहाँको भनाइ छ । वरिष्ठ नेता खनालले शनिबार, आइतबार र सोमबार प्रमुख दलको बैठक बस्ने र सहमतिको लागि अन्तिम प्रयत्न गरिने जानकारी दिनुभयो । संविधान लेखनमा देखिएका विवादित विषयमा दलहरुबीच पटक–पटक छलफल भएपनि हालसम्म सहमति भने हुन सकेको छैन । दलहरुबीच शासकीय स्वरुप, राज्य पुनःसंरचना, न्याय प्रणाली र निर्वाचन प्रणालीको विषयमा गम्भीर मतभेद् रहँदै आएको छ । सबैले आ–आफ्ना अडान राख्नेभन्दा पनि सहमतिको उपाय के हुन सक्छ भन्नेमा संवेदशनशील भएर छलफलमा जुट्नेमा दुई दल सहमत भएको नेताको भनाइ छ । बैठकमा प्रधानमन्त्री सुशील कोइराला, काँग्रेस उपसभापति पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, नेता पूर्णबहादुर खड्का र एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता खनाल, उपाध्यक्षद्वय विद्यादेवी भण्डारी, वामदेव गौतम, भीमबहादुर रावलको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]