म र झरी

शनिबारको दिन । धुम्म परेको आकाश । सिमसिम परिरहेको पानी । चिसो–चिसो मौसम ।

निद्रा खुले पनि ममा उठ्ने जाँगर भने पट्टक्कै छैन । ओछ्रयानबाटै हावाले फर्फराईरहेको झ्यालको पर्दा हेर्दै टोलाउँदै छु । मनभित्रभित्रै एउटा मिठोमिठो खालको अज्ञात महसुस हुँदैछ ।

थाहा छैन यो मनसुन(झरी)सँग मेरो कस्तो नाता छ; तर जब आकासबाट पानी बर्सीन थाल्छ, मनमा बेग्लै खालको तरङ्ग उत्पन्न हुन्छ । तप् ! तप् ! तप्तप्–तप्तप् ! आवाजमै म बिलाउँछु । केही सम्झेजस्तो, केही बिर्सेजस्तो— खै कस्तो कस्तो आभास पाउँछु । लाग्छ, ती पानीका थोपाहरु खस्दा पहिले धर्तीलाई होइन, मेरो अन्तरआत्मालाई छुने गर्छन् । सायद, असारमै जन्मेको भएर पनि होला, मलाई यो मौसम अरुभन्दा विशेष लाग्ने गर्छ ।

हिँड्दा–हिँड्दै पानी परेको यात्रा मलाई खुब मन पर्छ । आजकल पनि पानी पर्दा म काठमाडौका ती पानी छ्याप्दै गुड्ने बसहरु अनि यता र उता ढल्किँदै गुड्ने माईक्रोहरु सम्झिन्छु — जहाँ म प्रायः झ्यालको सिट रोजेर बस्ने गर्थेँ । जब बाहिर झमझम पानी पथ्र्यो गाडीभित्र उस्तै रोमाञ्चक गितहरु बज्ने गर्थे जसमा डुबिरहँदा म ओर्लने ठाउँ पुगेको पत्तै पाउँदिनथेँ । बसबाट हिलो छेक्दै ओर्लेर वरपर नियाल्थँे— शहर नै नुहाएर मुहार फेरेजस्तो नयाँ अनि सुन्दर लाग्थ्यो ।

सानोछदाँ, हाम्रो घर टिनले छाएको थियो । पछि बाले ढुङ्गाले छाउनु भो । टिनमा स—साना प्वालहरु हुन्थे जहाँबाट बर्खा याममा पानी पिँढीभरी चुहिन्थ्यो । अनि आमाले हामीलाई पानी चुहिने ठाउँहरुमा बटुका राख्न अह्राउनु हुन्थ्यो । छानाको पानी बलेनी हुँदै आँगनमा झथ्र्यो । म त्यै बलेनीमा झरेका पानीका धाराहरु हेर्दै बस्थेँ । पानीका धाराहरु कुनै निरन्तर सरर झर्थे भने कुनै चाहिँ चुटिँदै–छुटिँदै अनि फेरी जोडिँदै झर्थे । पानीका धाराको त्यो खेल म एकोहोरिएर हेर्दै सोचमग्न हुन्थेँ ।

कहिलेकाहीँ ठुलै असिना पर्ने गथ्र्यो । टिनको छानो कराएर एक–अर्काको आवाजसम्म सुनिन्थेन । आँगन अनि परपरसम्मका खेतहरु असिनाले सेतम्मे हुन्थे । हामी दिदिबहिनीहरु त्यहीँ असिनाका थुप्रोहरुमा उफ्रिँदै खेल्ने गथ्र्यौँ । जब पानी रोकिन्थ्यो, प्रकृतिले रुप फेरेझैँ लाग्थ्यो । त्यो छ्याङ्ग खुलेको आकाश मलाई एकदम मन पथ्र्यो । अझ त्यो भिजेको माटोको बास्नाको त कुरै नगरौँ— औधि मन पर्ने ।

हाम्रो घरको पारीपट्टि मामाघर छ । बर्खामा कुहिरो लागेर चारैतिर धुम्म हुँदा, हामीे त्यै कुहिरोको लुकामारीमा मामाघर हेथ्र्यौँ । एकैछिनमा देखिन्थ्यो अनि फेरी एकैछिनमा ड्याम्मै ढाकिन्थ्यो । टाढाबाट केही नदेखिने तर नजिक जाँदा सबै देखिने । कुहिरोको यही स्वभाव मलाई अनौठो लाग्थ्यो । पधेरी खोला, अलि तलको साधि खोला र परको चेपे खोलाबाट उठने बाफ देखेर पनि म चकित हुन्थँे । आजकल त गाउँ नै शुन्य भयो— कोही सहर पसे आफ्नै रहरले त कोही तराई झरे बाध्यता र विवशताका करले ।

नौ–दश वर्षको भएदेखी म बुढानीलकण्ठ स्कुलमा होस्टेल बस्न थालेँ । तनले त घर छोड्यो तर मनले छोडेन । घरको यादले धेरै सताउँथ्यो । झरी परेको दिन त अझ धेरै ।

काठमाडौँको उत्तरी भेग अनि शिवपुरीको फँेदीमा अवस्थित मेरो स्कुल मलाई काठमाडाँैभन्दा भिन्न लाग्छ । हरीया बन–जङ्गल, चिसो हावा, शान्त वातावरण अनि विष्णुमतीको कलकल आवाज । यस्तै परिवेशमा मैले जिवनका नौ स्वार्णिम बर्षहरु बिताएँ । स्कुलका सम्झनाहरु अनगिन्ती छन् तर धेरैजसो म तिनै दिनहरु सम्झन्छु जुन दिन आकाश गड्गडाउँदै धर्ती भेट्न ओर्लिन्थ्यो अनि म होस्टेलको कोठामा झ्यालको छेउमा बसेर बाहिर हेर्दै आफ्नो डायरीमा केके–केके कोर्ने गर्थेँ । मेरा धेरैजसो रचनाहरु यस्तै झरी परेको साँझ जन्मेका हुन् ।

बाल्यकाल सकियो, किशोरकाल पनि पार गरीयो । अब उमेर गन्न लाज हुन थालिसक्यो, तर यो मन उस्तै छ — मनको झरीसँगको नाता त्यस्तै छ । अझैपनि पानीपदार्, बेग्लै अनुभुती हुन्छ । झमझम पानी परेको साझ होस् वा सिमसिम परेको दिन, मलाई दुबै प्यारो लाग्छ ।

लामो ट्रेनको सानो झ्यालबाट यो भिजेकोे सहरलाई नियाल्छु— आफ्नो नभएर पनि आफ्नै जस्तो लाग्छ, सुन्दर लाग्छ, आफ्नोपनको आभास आउँछ । बाफले अर्धपारदर्शी बनेका झ्यालको सिसा हेर्छु, फेरी पनि त्यसमा बाङ्गाटिँगा अक्षरहरु कोरुझै लाग्छ । यो झरी, यो बतास अनि यो मेघको गड्गडाहटले पनि, केही भन्न खोजेझैँ लाग्छ । हावाका झोकाहरुले कसैको याद बोकेर ल्यााएझैँ लाग्छ ।

तर यहीँ बर्षाले हरेक साल, देशमा निम्त्याउने बिपत्ति देख्दाचाहिँ मनै कट्क्क हुन्छ । जब फेसबुकका भित्ताहरुमा सिन्धुपाल्चोक लगायत देशैभरी बाढीले डुबाएका घरहरु, पहिरोले पुरेका जीवनहरु पढ्छु, मन अमिलो हुन्छ । साँच्ची नै घरदेशीलाई भन्दा बढी परदेशीलाई देश दुख्दो रहेछ । कोरोना र भुकम्पजस्ता प्रकोपहरु त अप्रत्यासित कुराहरु भए, तयारी थिएन भन्न सकिन्छ तर यी त प्रत्येक वर्ष आउने विपत्तिहरु हुन् र पनि सरकार किन मौन छ ? किन छैन पूुर्व तयारी? किन विपद जोखिम न्यूनिकरणमा ध्यान दिँदैन ? अचम्म लाग्छ ।

पोहोर सालको बर्खामा, आफ्नै घरमाथीको ढिस्का खसेर घरसम्म आईपुग्यो । बाहृै महिना फुल्ने खुर्सानी फुल अनि गुलाबको झ्याङ्ग पनि पहिरोसँगै झरे । सधै देखिरहने एउटा फुलको बोट त अर्को साल नदेख्दा मन खल्लो भयो । कस्तो भयो होला स—परिवार आखँै अघि गुमाउनेका मनहरु ? कसरी थामे होलान् नयनहरु, निमेषभरमै मरुभुमीमा परिणतहुदाँ हाडछाला घोटेर ठडाएका ती सपनाका महलहरु ? म त मात्र कल्पना गर्न सक्छु अनि भगवानसँग प्रार्थना ।

यो बिपत्तिमा ज्यान गुमाउनेहरु सबैमा हार्दिक श्रद्धाञ्जली साथै घाईते सबैमा शिघ्र स्वास्थ्य लाभको कामना ।

सिरान्चोक ८, गोरखा, हालः सिड्नी अष्ट्रेलीया