सहमतिलाई स्मरण गर्दै प्रक्रियालाई अगाडि बढाउन मोर्चाको जोड, पूर्वसहमति भुल्न नहुने


???????????????????????????एकीकृत नेकपा (माओवादी) नेतृत्वको सङ्घीय लोकतान्त्रिक मोर्चाले विगतको सहमतिलाई स्मरण गराउँदै सहमतिमै संविधान निर्माणको प्रक्रिया अगाडि बढाउन सत्तारुढ दललाई आग्रह गरेको छ । एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको मोर्चाको बैठकले सरकारमा रहेका दलहरू गणितीय आधारमा नै संविधान निर्माण प्रक्रिया अगाडि बढाउन लागेको भन्दै पूर्व सहमति नभुल्न पुनः अनुरोध गरेको हो । अन्तरिम संविधान, २०६३ विस्तृत शान्ति सम्झौता, १२ बुँदे सहमति र विभिन्न समयमा भएका सहमति तथा सम्झौताको मर्म र शान्ति प्रक्रियाको पूर्णता दिन पनि सहमतिको आधारमै संविधान लेखिनुपर्ने ठहर गर्दै मोर्चाले त्यसो नभए आन्दोलन गर्नुको विकल्प नभएको पनि निर्णय गरेको सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले राससलाई जानकारी दिनुभयो । आगामी कार्यक्रम र संविधान निर्माणका विषयमा साझा धारणा तय गर्न शनिबार संविधानसभामा प्रतिनिधित्व गर्ने २० दलको संयुक्त बैठक बोलाइएको समेत उहाँले जानकारी दिनुभयो । प्रमुख दलले गरेको प्रतिबद्धताअनुसार आगामी माघ ८ गतेभित्र संविधान जारी गर्नुपर्ने भए पनि समय घर्कंदै गएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा समान धारणा बनाउन पहल भएरहेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । दलहरूबीच पटक–पटक विवादित विषयमा सहमति जुटाउन भन्दै औपचारिक–अनौपचारिक छलफल भएको भए पनि हालसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन । दलहरूबीच शासकीय स्वरुप, राज्य पुनःसंरचना, न्यायप्रणाली र निर्वाचन प्रणालीको विषयमा चर्को मतभेद छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]