रूसमा कोरोनाविरुद्धको पहिलो भ्याक्सिन तयार भएको राष्ट्रपति पुटिनको दाबी !

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशको नियामक निकायले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरेको बताएका छन् । उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो । पुटिनले उक्त खोप प्रभावकारी भएको र त्यसले प्रतिरोध क्षमतालाई बलियो बनाएको दाबी गरेका छन् ।

उनले आफ्नी एउटी छोरीलाई पनि उक्त खोप दिइएको बताएका छन् । ठूलो स्तरमा मानिसमा परीक्षण गर्न बाँकी भए पनि सरकारले उक्त खोपको प्रयोगलाई औपचारिक मान्यता दिएको हो । पश्चिमा देशका वैज्ञानिकहरूले रूसको खोप कार्यक्रमबारे प्रश्न उठाएका छन् । उनीहरूले रुसी अनुसन्धानकर्ताहरूले खोप परीक्षणको विधि पूरा नगरेको आशङ्का व्यक्त गरेका छन् ।

रुसले भने विभिन्न देशबाट उक्त खोपको एक अर्ब मात्रा माग आइसकेको दाबी गरेको छ । मस्कोले उक्त खोपको नाम स्पुत्निक राखिने जनाएको छ । स्पुत्निक सोभियत सङ्घले १९५० को दशकमा प्रक्षेपण गरेको पहिलो भू–उपग्रहको नाम हो । अहिले विश्वमा विभिन्न देशमा समानान्तर रूपमा दर्जनौँ खोपको निर्माण र केहीको मानवमा परीक्षण गर्ने काम भइरहेको छ ।