पाँच हजारले लियो ज्यान

रोल्पाको रुन्टीगढि गाउँपालिका–६ सालवाङका ५६ वर्षीय गोठे बुढा साउन १६ गते लुटिए । गोठे बुढा घोरहीबाट घर आउँदै गर्दा साँझको ६ः३० बजेको समयमा रुन्टीगढि गाउँपालिका–६ भन्ज्याङ खोलामा लुटिए । गोठे बुढालाई चिनेकै स्थानीय ईश्वर बस्नेतले लुटर भागेका थिए । २४ वर्षीय ईश्वरले गोठे बुढाको ५ हजार रुपैयाँ नगद र हातमा लगाएको घडी लुटेको प्रहरीले जनाएको छ ।

५ हजार र घडी लुटपाट गर्दा ईश्वर बस्नेतले ज्यान गुमाउनुपरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्सपेक्टर शंकर खड्काले बताए । गोठे बुढालाई लुटपाट गर्ने उनै ईश्वरको १७ गते बिहान १० मृत्यु भयो ।

आफू लुटिएपछि गोठे बुढाले स्थानीयलाई खबर गरे । बुढाले स्थानीयलाई सबै घटना बताएपछि १४ जना शनिबार राति १ बजे बस्नेतको घर गए । स्थानीय आएको थाहा पाएलगत्तै ईश्वर भाग्नको लागि झ्यालबाट हाम फाले ।

सोही क्रममा उनी घाइते भए । घाइते अवस्थामा रहेका ईश्वरलाई झनै स्थानीय १४ जनाको समूहले कुटपिट गरे । अवस्था गम्भीर भएपछि तत्कालै ईश्वरलाई स्वास्थ्य चौकी डुबृङ लगियो ।

त्यहाँ उपचार सम्भव नहुने देखिएपछि दाङ लग्दै गर्दै ईश्वरको भन्ज्याङ खोलामा मृत्यु भएको प्रवक्ता खड्काले बताए । ईश्वरको मृत्यु भएको खबर शनिबार बिहान १० बजे पाएको र खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको खड्काले बताए ।

प्रहरीले घटनाबारे थाहा पाएलगत्तै घटनामा संलग्न ६ जनालाई सुरुमा नियन्त्रणमा लिएको थियो । फरार ८ जना शनिबार ४ बजेको समयमा भन्ज्याङ खोलामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेको उनले बताए ।

पक्राउ पर्नेमा रुन्टीगढि गाउँपालिका–६ बर्ष ३९ को भिम बहादुर बस्नेत,बर्ष ३३ को झुपलाल बुढा, बर्ष ३९ को प्रेम बहादुर बुढाथोकी, बर्ष ३५ को चेतलाल साहु , बर्ष ३९ को चन्द्रलाल रोका, वर्ष २८ को दिल बहादुर रोका, बर्ष २२ को टोपेन्द्र साहु रोका रहेका छन् ।

यस्तै रुन्टीगढि गाउँपालिका–६ कै बर्ष ३१ को धनसिंह बुढाथोकी रोका, बर्ष २४ को कमल बस्नेत, बर्ष १८ को प्रकाश बुढा, बर्ष २० को ठगेन्द्र बुढा, बर्ष २० को प्रेम बुढा, बर्ष २५ को तिल बहादुर चलाउने र बर्ष ३५ को हिरा बहादुर बुढाथोकी रहेका छन् ।