भारत र चीनका नागरिक भन्दा नेपाली धेरै खुसी !

रुवान्डा र अफगानिस्तान भन्दा मात्र होइन, भारत र चीनका नागरिकभन्दा नेपाली खुसी छन् । हो, ‘वल्र्ड ह्याप्पिनेस इन्डेक्स २०२०’ अनुसार विश्वका एक सय ५३ देशमध्ये नेपाल ९२ औं स्थानमा छ ।

संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्कद्वारा प्रकाशित रिपोर्टअनुसार कुल १० नम्बरमा नेपालले ५ दशमलव १३ अंकसहित ९२औं स्थान हासिल गरेको हो । गत वर्ष नेपाल सयौं स्थानमा थियो ।

रिपोर्टअनुसार दक्षिण एसियाली मुलुकमध्ये नेपालभन्दा अघि पाकिस्तान ६६ औं स्थानमा र माल्दिभ्स ८७ औं स्थानमा छन् । त्यस्तै, बंगलादेश १०७ औं, श्रीलंका १३० औं, भारत १४४ औं, अफगानिस्तान अन्तिम अर्थात् १५३ औं स्थानमा छन् ।

छिमेकी चीन पनि नेपालभन्दा पछि ९४औँ स्थानमा छ । खुसीका सामाजिक, आर्थिक, वातावरणीय, भौगोलिकलगायत विविध उपसूचकका आधारमा विभिन्न मुलुकका जनताको खुसीको स्तर यो प्रतिवेदनले मूल्यांकन गर्दै आएको छ । खुसी सूचकको सबैभन्दा अगाडि फिनल्यान्ड, डेनमार्क, स्वीट्जरल्यान्ड, आइसल्यान्ड र नर्वे छन् ।

यता भर्खरै केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणले ६३ प्रतिशत नेपालीले खुसी रहेको तथ्यांक पनि प्रस्तुत गरेको छ । १५ देखि ४९ वर्ष उमेर समूहका महिला र पुरुषका नेपालीमध्ये ज्यादै खुसी वा केही हदसम्म खुसी हुनेको औसत दर भने ६३ दशमलव ४ प्रतिशत छ । सो उमेर समूहका महिलामध्ये ६२.४ प्रतिशत र पुरुषमध्ये ६४।७ ले आफू ज्यादै खुसी वा केही हदसम्म खुसी रहेको व्यक्त गरेको पाइएको छ ।