गुल्मीको रुरु क्षेत्रमा पहिरोले एक घर बगायो, ४ जना पुरिएको आशंका

गुल्मीको रुरु क्षेत्र गाउँपालिका ५ आटीपाटामा पहिरोले एक घर बगाएको छ । पहिरोमा परी घरमा रहेका ४ जना पुरिएको आशंका स्थानीयले गरेका छन् । पुरिएको आशंमा स्थानीयबासी उद्धारकार्यमा जुटेका छन् । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय रिडी तथा प्रहरी चौकी श्रिंगाको टोली घटनास्थल जाँदै छ ।

घटनास्थल टाहाटिमभन्दा तलको पाखो क्षेत्र हो । बाटो विस्तारका क्रममा पहिरोको जोखिम बढेको यो क्षेत्रमा साँझ पहिरो गएको स्थानीयले बताएका छन् । रातिको समय र घटनास्थल पुग्ने बाटो पनि कठिन भएकाले घटनास्थल पुग्न कठिन भइरहेको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।