पर्सामा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि !

पर्सामा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा २ चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा १३ जना पर्सा, एक जना बारा र एक जना इलामका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका एक जना थुनुवासमेत कोरोना संक्रमित पाइएका छन् । संक्रमित दुवै चिकित्सक नारायणी अस्पतालकै हुन् । उनीहरू एक संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा देखिएपछि स्वाब संकलन गरिएको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार एक महिलासहित थप १५ जनामा संक्रमण पुष्टि भएको हो । तिनमा २३ देखि ५६ वर्ष उमेरसमूहका छन् ।