२७ जनालाई पछि पार्दै पुनः राखेप सदस्य सचिवमा सिलवाल !

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो । उक्त पदका लागि २७ जनाले आवेदन दिएका थिए ।

राखेपमा पहिलो पटक खुला आह्वानद्वारा सदस्य सचिव नियुक्त भएका हुन् । नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि स्वत खारेज भएको सदस्य सचिवको पदमा पहिलो पटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त भएका हुन् ।

नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको समितिले एक महिलासहित तीन जनालाई सिफारिस गरेको थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।