भारतीय मिडियाहरुको निर्वाध प्रशारण रोक नेपाल सरकार !

नेपालमा हिन्दी र अंग्रेजी भाषाका भारतीय मिडियाहरुको निर्वाध प्रशारण हुन्छ । यी च्यानल हेरेवापत हरेक वर्ष करोडौं नेपाली रुपैयाँ विदेश जाने गरेको छ । यी च्यानलहरुबाट प्रशारण चाहीँ के हुन्छ त ? पक्कै पनि यो गम्भीर विषय हो । केही च्यानलहरु पत्रकारिताको मापदण्ड, अन्तर्राष्ट्रिय नीति नियम र कानूनमा बाँधिएका छन् । तर, अधिकांश भारतीय न्यूज च्यानलहरु मात्र अफवाह फैलाउने, प्रोपोगाण्डाका साधन बनेका छन् । पछिल्लो समय त भारतका न्यूज च्यानलहरु सरकारी मुखपत्र सरह नै देखिन्छन् । सरकारी आदेशमा कहिले पाकिस्तान, कहिले बंगलादेश त कहिने नेपाललाई निशाना साँध्नु उनीहरुको पहिलो कर्तव्य मान्छन् । चीन त उसको जित्नै नसक्ने सत्रु हो र त्यसलाई मिडियामार्फत होचो देखाउनु भारतीय सत्तापक्षको नियत नै बनेको छ ।

अहिले हामीले उठाउन लागेको प्रसंग न त भारतीय मिडियाका लागि हो न त भारतको सरकारका लागि । हामीले विदेशमा बस्ने नेपालीहरुको भावनालाई प्रतिनिधित्व गर्दै कम्तिमा नेपाल र नेपालका प्रधानमन्त्रीको तेजोबध गर्ने कुत्सित भारतीय मिडियाहरुलाई रोक्नुपर्छ भन्ने माग राख्न खोजेका हौं । नेपाल सरकार एक स्वतन्त्र मुलुकको जननिर्वाचित संस्थाका विषयमा अनर्गल मात्र होइन आपत्तिजनक प्रशारण भइरहेका छन् । जीटीभीले यस अघि पनि पटक पटक नेपाली सम्मानमा आँच आउने सामग्री दिँदै आएको हो । तर, भारतको तावेदारी गर्ने, भारतीय सिनेमा नहेरी, भारतीय हिन्दी गीत नसुनी निद्रा नै नलाग्ने केही व्यक्तिहरुका कारण फेरि पनि यो प्रतिबन्ध खुला भयो । अहिले फेरि जीटीभीले उस्तै हर्कत देखाएको छ । त्यति मात्र होइन यो सत्ताको तावेदारी गर्ने लाईनमा अरु टेलिभिजनहरु, अनलाईन पोर्टनलहरु पनि थपिएका छन् ।

MNTV AUSTRLAIA EDITORIAL

नेपालमा समेत प्रशारण गरिने यी माध्यमहरुमा यतिबेला चिनियाँ राजदूतलाई विषकन्या, उनको प्रेमजालमा नेपालका प्रधानमन्त्री परेर यो सबै खेल गरिरहेको भन्नेसम्मको दावीहरु देख्न सकिन्छ । नेपालमा मानिसहरु यी समाचार हेरेर हाँसिरहेका छन् । तर, भारतमै कतिपयलाई भने यो मनोरञ्जनको विषय बन्नसक्छ । नेपालका बारेमा गलत छवि निर्माण गर्ने जुन प्रयास छ त्यसलाई तत्कालै नरोक्ने हो र यसको सटिक जवाफ नदिने हो भने यो क्रम बढ्दै जाने छ । नेपाली नेताहरुको कहाँ कहाँका भनाई जोडेर गलत समाचार बनाइएका छन् । उपेन्द्र यादव यसको उदाहरण बनेका छन् । उनी आफुले बोल्दै नबोलेको विषय, अर्कै प्रसंगामा राखेको कुरालाई जोडजाड पारेर हनिट्रयापको विषयमा प्रशारण गरिएको भन्दै भारतीय मिडियालाई बेइमान भनिरहेका छन् ।

अब बेला हो सरकारको, सरकारले तत्कालै यी र यस्ता भारतीय च्यानलहरुलाई नेपालमा प्रशारण रोक लगाउनुपर्दछ । अहिलेको सम्पूर्ण क्षतिको पूर्ति नगर्दासम्म र आफ्ना सामग्री हटाएर, आफ्नो गल्ती मानेर आगामी दिनमा यस्तो गल्ती नदोहोराउन लिखित प्रतिबद्धता नदिँदासम्म यो प्रतिबन्ध कायम राख्नुपर्दछ ।
नाकाबन्दीमा अत्यावश्यक सामग्री नआउँदा समेत त एकताबद्ध भएर मुकाविना गरेका नेपालीलाई हिन्दी भाषाका केही च्यानलहरु नहेर्दा केही फरक पर्दैन । अहिले नगर्ने हो भने यो भ्रमणको बाढी आउने क्रम जारी रहनेछ । चेतना भया ।