मेलबर्नको नयाँ बन्दै गरेको सबअर्बमा बाटोको नाम ‘गोर्खा वे’ राखियो !

अष्ट्रेलियाको मेलबर्नस्थित वेन्ड्यामभेल काउन्सिलमा नयाँ विस्तार गर्न लागिएको वस्तीको एउटा बाटोको नाम गोर्खा वे राखिएको छ । विश्वविख्यात लडाकु सैनिक गोर्खालीको सम्झनामा बाटोको नाम गोर्खा राखिएको हो । यसको पहलकर्ता स्थानीय रोशनी श्रेष्ठ थिइन् ।

उनले एमएनटीभीसँग कुरा गर्दै भनिन्, “मेरो आफ्नै सोच हो । हाम्रो नाममा पनि बाटो होस् भन्ने चाहना थियो । यसका लागि निकै कागजात पेश गर्नुपर्दो रहेछ । किन गोर्खा वे भनेर धेरै छलफल भए । यसपछि गोर्खालीको जुन ईतिहास छ त्यसको सम्मानको लागि भनेर मैले कार्यपत्र नै दिएको थिएँ । सुरुमा काउन्सिलले यसका लागि डेभलपरसँग कुरा गर्नपर्छ भन्यो । अनि, काउन्सिल, डेभलपर सँगै बसेर छलफल गरेका थियौं ।”

अहिले गोर्खा वे रहेको बाटो दायाँबायाँ रहेका ३० भन्दा बढी घडेरीहरु लगभग सकिइसकेको पनि उनले जानकारी दिइन् । “नेपालीहरुको लागि त म गोर्खा वे मा बस्छ भन्दा गर्वको विषय हुने नै भयो । यहाँ अन्य समूदायलाई पनि गोर्खालीको वीरताको जानकारी हुने कुराले निकै खुशी छु ।” उनले भनिन् । अब नजिकै रहेको वार म्युजियममा गोर्खालीसँग सम्बन्धित सामग्रीहरुसहित भिक्टोरियाक्रस प्राप्त गोर्खालीको शालिक राख्न पहल गर्ने उनले बताएकी छिन् ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष एवं भिक्टोरियाका संयोजक प्रेम कँडेलले आफुलाई यो खबरले अत्यन्तै खुशी दिएको बताए । गोर्खाहरुले पहिलो, दोश्रो विश्वयुद्धमा खेलेको भूमिकाको सम्मान भएको भन्दै उनले भने, “हामीले विभिन्न ठाउँमा नयाँ वस्ती बन्दा डेभलपर र काउन्सिलहरुमा सम्पर्क गरी ‘गोर्खा वे, एभरेष्ट वे वा बुद्ध वे’ लगायत बनाउन पहल गर्नुपर्छ ।”

नयाँ विकास गर्न लागिएको क्षेत्र मेलबर्न सिटीबाट ३७ किलोमिटर पश्चिममा पर्छ ।