मेलबर्नका ९ वटा आवासीय टावरहरुमा लकडाउन, कम्तिमा पाँच दिन कोही बाहिर जान नपाउने !

कोरोना भाईरस संक्रमणका नयाँ १ सयभन्दा बढी केसहरु देखिएपछि अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका ९ वटा आवासीय टावरहरु लकडाउन गरिएको छ । प्रिमियर डेनियल एन्ड्रयूले तत्कालैबाट लागू हुनेगरी यी ठाउँमा लकडाउन गरिएको र त्यहाँ बसोबास गर्ने कम्तिमा तीन हजार व्यक्तिहरुको कोरोना परीक्षण नसकिँदासम्म यसमा कुनै पुनर्विचार नहुने पनि बताएका छन् ।

उनले दुई साताका लागि लकडाउन भएपनि आगामी पाँच दिन कडा निगरानीमा राखिने बताए । यसका लागि हरेक तल्लामा प्रहरीको उपस्थिति हुनेछ भने लडकउनका नियमहरुको पूर्ण पालना गराइनेछ । यसअघि क्वारेन्टाईनमा बसेकाहरुले नियम पालना नगरेको, सुरक्षाकर्मीले समेत लापर्वाही गरेको र टेष्ट गर्न अस्वीकार गरेको खबर आइरहँदा निरन्तर कोरोनाको संक्रमण बढिरहेको छ । भिक्टोरिया बाहेकका अन्य राज्यहरुले यहाँका यात्रुहरुलाई समेत अस्वीकार गर्ने क्रम बढेको छ ।