अष्ट्रेलियाबाट नेपाल फर्किने तेश्रो फ्लाईटको लागि एनआरएनको नेतृत्वमा सहजकर्ता समिति गठन

अष्ट्रेलियास्थित नेपाली दूतावासको संयोजनमा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलको नेतृत्वमा कोरोना महामारीकाबीच अष्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरुका लागि तेश्रो चार्टड फ्लाईट सञ्चालनका लागि सहजकर्ता समिति गठन गरिएको छ । यो समितिले सबैभन्दा सस्तो र भरपर्दो ट्राभल एजेन्सी वा विमान कम्पनीसँग बोलपत्र लिएर तेश्रो फ्लाईटको मिति तय गर्नेछ । मंगलबार अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालको नेतृत्वमा भएको सामूदायिक छलफलबाट यस्तो समिति बनाउने निर्णय भएको हो । यो समितिमा एनआरएन अष्ट्रेलिया, फेन्का, एएनएमडीए, एन्जा लगायतका संघसंस्थाका प्रतिनिधि रहनेछन । समितिले अष्ट्रेलियाबाट चार्टड उडानमार्फत नेपाल लैजानका लागि अपनाउनुपर्ने प्रावधानहरु निर्माण गर्नेछ । मंगलबारको बैठकमा राजदूत दाहालले आफु सदैव सस्तो भाडादरमा सहुलियतपूर्ण तरिकाले नेपालीहरु स्वदेश फर्कन पाउनुपर्छ भन्ने मान्यतामा रहेको र सबै कार्य पारदर्शीपूर्ण तवरमा गरिएको बताएका थिए । उनले नयाँ बनेको सहजकर्ता समितिले बोलपत्र माग गरी सबैभन्दा उचित ठहराएको ट्राभल एजेन्सीलाई जिम्मा दिने कार्यमा दूतावासले सरकारी निकायहरुसँग समन्वय गर्ने प्रतिबद्धता जनाए ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल लगायतले एनआरएन, दूतावास, सञ्चारकर्मी, व्यवसायी सबैको उद्देश्य सहजतापुर्वक, सहुलियतमा नेपाल जाने वातावरण तयार होस् भन्ने रहेकोले सकारात्मक निष्कर्श निस्कने आशा व्यक्त गरे ।

सुमेघ ट्राभल्स पनि सहभागी हुने

यसअघि आगामी ७ जुलाईका लागि अष्ट्रेलियाबाट सिंगापुर हुँदै नेपाल फर्किने अफरसहित प्रचारमा आएको सुमेघ ट्राभल्सले पनि ७ तारिखको फ्लाईट रोकेको छ । उसले आफुसँग सम्पर्कमा आएका सबैलाई दूतावास मार्फत आउन आग्रह गरेको जनाएको छ । सुमेघ ट्राभल्सका अष्ट्रेलिया प्रतिनिधि रमेश केसीले आफुहरुले कुनै गैरकानूनी काम नगरेको, पर्यटन मन्त्रालय, गृह मन्त्रालय लगायतबाट स्वीकृति भइसकेको तर दूतावाससँग समन्वय हुन बाँकी रहेको अवस्थामा विवाद आएको बताए । उनले भने, “त्यसैले हामीले जान चाहने र हामीलाई सम्पर्क गर्ने सबैलाई दूतावासमा सम्पर्क गर्न भनेका छौं । हामी सहकार्य गरेर जान चाहन्छौं । नाफा कमाउने उद्देश्य न हिजो थियो, न आज छ न भोलि हुनेछ । हामी अप्ठेरोमा परेका नेपालीहरुलाई आफ्नो व्यवसायिक क्षमतामार्फत सहयोग गर्न चाहन्छौं ।” अब दूतावासकै निर्देशन अनुरुप अघि बढ्ने उनले जानकारी दिए ।