अन्तिम फ्रान्सेली बन्धक तीन वर्षपछि घर फर्के, मृत्युनजिक पुगेर जीवन बुझेको प्रतिक्रिया


frenchफ्रान्सका अन्तिम बन्धक सेर्ज लाजारेभिक तीन वर्षसम्म इस्लामी लडाकूको बन्धक बनेपछि बुधबार घर फर्केका छन् । उनलाई परिवार तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलोँले स्वागत गर्नुभएको छ ।  एकाउन्न वर्षीय लाजारेभिकलाई पेरिसको बाहिरी भागमा रहेको सैनिक विमानस्थलमा राष्ट्रपति अलोँले स्वागत गर्नुभयो । यसपछि उनलाई उनकी आमा तथा बहिनीले स्वागत गरेका थिए ।  छोरीसँगै जेट विमानबाट बाहिर आएपछि लाजारेभिकले राष्ट्रपति अलोँ तथा आफ्ना परिवारसँग ठट्टा पनि गरेका थिए । ‘‘जब तपाई स्वतन्त्र हुनुहुन्छ तब जीवन राम्रो हुन्छ । स्वतन्त्र हुनु कस्तो हुन्छ भन्ने कुरा मलाई थाहा भएन । स्वतन्त्र हुनु कस्तो हुन्छ भन्ने कुरा मैले भुलिसकेको थिएँ । अब म यो कुरा कहिल्यै भुल्दिन’’, लाजारेभिकले पत्रकारहरूलाई बताए । ‘‘सावधान हुनुहोस्, किनभने स्वतन्त्रता कुनै पनि कुराभन्दा पनि प्यारो हुन्छ । जब तपाईंलाई बन्धक बनाइन्छ, जब तपाईंमाथि दुव्र्यवहार हुन्छ, जब तपाईं हराउनु हुन्छ, जब तपाई मृत्युको नजिक पुग्नुहुन्छ, तपाईं जीवनको बारेमा बढी सोच्नुहुन्छ’’, उनले थपे । राष्ट्रपति अलोँले लाजारेभिक फ्रान्सेली माटोमा फर्केको देख्दा आफूलाई निकै खुसी लागेको बताउनुभयो । ‘‘स्वागत छ, लाजारेभिक, हामी तपाईंलाई तीन वर्षदेखि पर्खिरहेका थियौँ’’, राष्ट्रपति अलोँले भन्नुभयो । लाजारेभिकलाई उनका परिवारमा फर्काउनुपूर्व तत्कालै स्वास्थ्य परीक्षणका लागि सैनिक अस्पतालमा लगिएको एक कूटनीतिक स्रोतले बताए ।  ती स्रोतले चिकित्सकले विमानमै उनको स्वास्थ्य परीक्षण गरेको र उनको स्वास्थ्य राम्रो देखिएको बताए । हालैका वर्षमा दर्जनौँ फ्रान्सेली नागरिकलाई बन्धक बनाइएकोमा लाजारेभिक अन्तिम बन्न पुगेका छन् । गत वर्ष यसरी अपहरित प्रान्सेली नागरिकको सङ्ख्या १५ पुगेको थियो । सिरियाली जिहादीले अपहरण गरेका चार फ्रान्सेली पत्रकारलाई यसै वर्षको आरम्भमा रिहा गरिएको थियो । लाजारेभिकलाई रिहा गर्न नाइजर र मालीले गहन प्रयास गरेका थिए । जालारेभिकको कसरी रिहा भयो र फ्रान्सले उनको रिहाइका लागि रकम तिरेको छ कि छैन भन्ने विषयमा स्पष्ट भएको छैन ।  गिसलेँ डुपोँका मित्र नाम गरेको एक समूहले अनेकौँ बन्धक बनाउने व्यक्तिहरूसँग लाजारेभिकलाई साटिएको बताएको छ । आरएफआईका पत्रकार डुपोँको गत वर्ष मालीमा हत्या भएको थियो । यस समूहले यो सूचना कसरी प्राप्त भयो भन्ने सम्बन्धमा पनि पनि उल्लेख गरेको छैन । लाजारेभिकलाई सन् २०११ को नोभेम्बर २४ मा फ्रान्सेली मित्र फिलिपे वर्दोनसँग एक व्यापारिक यात्रामा सशस्त्र व्यक्तिहरूले अपहरण गरेका थिए । उनलाई अपहरण गर्ने व्यक्तिले आफूलाई अल–कायदा इन दी इस्लामिक माघ्रेबका सदस्य भएको बताएका थिए । वर्दोनलाई गत वर्ष गोली हानी हत्या गरेको अवस्थामा फेला पारिएको थियो । उनका परिवारले वर्दोन निकै कमजोर भएकाले निजलाई हत्या गरिएको हुनसक्ने अनुमान गरेका छन् । लाजारेभिकका साथमा वर्दोनका छोरा पनि रहेका थिए । मालीको सुरक्षा स्रोतले लाजारेभिकलाई उत्तरी मरुभूमियुक्त नगर किदालमा मुक्त गरिएको जानकारी दिएको छ । बन्धक अवस्थामा रहँदा जालारेभिकलाई एक्युआईएमले अनेकौँपटक भिडियोमा देखाएको थियो । यी दुई व्यापारीले सुरक्षा र निर्माणको काम गरेका थिए र एक्युआईएमले उनीहरू फ्रान्सेली गुप्तचर भएको आरोप लगाएका थिए । उनीहरूका परिवारले यसलाई अस्वीकार गरेका थिए । फ्रान्सेली राष्ट्रपति अलोँले माली र नाइजरका अधिकारीहरूलाई लाजारेभिकको रिहाइका लागि धन्यवाद दिनुभएको छ । नियामेमा राष्ट्रपतिको कार्यालयले नाइजर र मालीका अधिकारीहरूले निरन्तर प्रयास गरेका कारण लाजारेभिकको रिहाइ भएको जानकारी दिएको छ । फ्रान्सेली राष्ट्रपति अलोँले अब विश्वको कुनै पनि मुलुकमा फ्रान्सेली नागरिक बन्धक बाँकी नरहेकाले यो फ्रान्सेली जनताका लागि खुसीको कुरा भएको बताउनुभयो । उहाँले फ्रान्सेली जनतालाई आफू बन्धक बन्नसक्ने स्थानमा नजान आग्रह गर्नुभयो । लाजारेभिकको रिहाइका विस्तृत विवरण दिइएको छैन र पश्चिमी मुलुकले अप्रत्यक्ष रूपमा बन्धकलाई रकम दिएको आरोप लगाए पनि फ्रान्सले यसलाई अस्वीकार गरेको छ । सेप्टेम्बर महिनामा फ्रान्सेली राष्ट्रपति अलोँले आफ्नो मुलुकले बन्धक रिहा गर्न रकम नतिर्ने तथा बन्दी आदानप्रदान पनि नगर्ने भनी दाबी गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]