अमेरिकी राष्ट्रपतिको एशिया भ्रमणका क्रममा नेपाल पनि आउन प्रधानमन्त्रीबाट निमन्त्रणा, लोकतान्त्रिक शक्तिलाई नैतिक बल पुग्ने भनाई


obamaप्रधानमन्त्री सुशील कोइरालासँग अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीले  प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको छ । दुई देशबीचको सुमधुर कूटनीतिक सम्बन्ध, संविधान निर्माण, नेपालमा हुन सक्ने अन्तर्राष्ट्रिय लगानी र आपसी चासोका विषयमा भेट केन्द्रित भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई नेपाल भ्रमणको लागि औपचारिक निमन्त्रणापत्र पनि राजदूत बोडीलाई हस्तान्तरण गर्नुभएको थियो । प्रधानमन्त्री कोइरालाले नेपाल संविधान निर्माणको महत्वपूर्ण र निर्णायक चरणमा रहेकाले आउँदो जनवरीमा अमेरिकी राष्ट्रपतिको दक्षिण एसियाको भ्रमणमा नेपालमा पनि छोटो भ्रमण भएमा त्यसले समस्त लोकतान्त्रिक शक्तिलाई नैतिक सहयोग हुने विचार राख्नुभएको थियो । भेटवार्तामा राजदूत बोडीले प्रधानमन्त्री कोइरालाको नेतृत्वमा नै संविधान निर्माण हुन सक्नेमा आफूहरु विश्वस्त रहेको बताउनुभएको थियो । उहाँले केही राजनीतिक दलका नेताहरुको अभिव्यक्तिले आम जनतामा केही आशङ्का पैदा भएको पनि बताउनुभएको थियो । सो अवसरमा अमेरिकी राजदूत बोडीले संविधान निर्माणलाई प्राथमिकतामा राख्दा राख्दै पनि सरकारले भारतसँग हालै सम्पन्न गरेको विद्युत् व्यापार सम्झौता र लगानी बोर्डले अरुण तेस्रो र माथिल्लो कर्णालीका आयोजनासँग गरेको परियोजना विकास सम्झौताले लगानीकर्तामा राम्रो सन्देश गएको पनि बताउनुभयो । उहाँले यसले नेपालको दीर्घकालीन विकासलाई गति दिने पनि बताउनुभयो । सो अवसरमा राजदूत बोडीले नयाँ लगानीका साथै भइरहेको लगानीको सुरक्षणका लागि पनि सरकारले उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले जलविद्युत विकासमा समस्याको रुपमा रहेको प्रसारण लाइन निर्माणलाई सरकारले प्राथमिकतामा राखेकाले सम्बन्धित आयोजना निर्धारित समयमा सम्पन्न भएमा नेपालमा जलविद्युत्को छिटो विकास हुने पनि बताउनुभयो । उहाँले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई अलग्गै आयोग बनाएर हेर्नसके प्रभावकारीरुपमा काम हुने पनि बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले संयुक्त राज्य अमेरिकाले नेपालको आर्थिक सामाजिक विकासमा भौतिक र वित्तीय सहयोगको साथै प्रजातन्त्रको विकासमा निरन्तर नैतिक समर्थन दिएकामा धन्यवाद पनि ज्ञापन गर्नुभएको थियो । वार्तामा प्रधानमन्त्रीले विदेशी लगानीको सुरक्षामा ध्यान दिइने वचन पनि दिनुभएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई पनि हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]