के साँच्चै बुहारी छोरी सरह हुन्छिन् त ?

बिहानको चार बजेको हुँदोहो, छिमेकीको कुखुरो कराएर बिउँझाइदियो ।

आज त शनिबार जे परेनी परोस एकछिन त सुत्छु, छिटो ऊठेरनी ऊखार्नू केही छैन…

छेउमा सुत्नुभएका पतिदेवको निद्रा अझै डगमगाएको थिएन… निद्रा त किन लाग्थ्यो मेरो नी त्यही नि पल्टी रहें । एकैछिनमा सासूआमाको आवाज घन्क्यो । “सरिता… पाँच बज्न लाग्यो है उठ । नुहाई धुवाई गर । कसियार लाउन नि पर्यो, आज तिम्रो छुट्टी, कान्छी नि आउँदिन लू उठ है । बेर नगर बाबू … ।”

“उठें हामा… ।” भित्रैबाट बोलें । बिदाको दिन नि आनन्दले सुत्न नपाइने, कहिलेकाहीँ त आफ्ना छोरालाई उठाए नि हुने नि ? बर्बराएँ एक्लै.. उठ्नै पर्यो । ऐले रडाको मच्चाउनु हुन्छ फेरि… तौली बोकेर बाहिर निस्कें … आमा थप्दै हुनुहुन्थ्यो … “आज एकादशी.. तातोपानीले नुहाउनु हुँदैन । चिसैले नुहाउ है ।”

उफ यो एकादशी पनि बुहारीलाई मात्र लाग्दोरहेछ । जमाना कहाँबाट कहाँ पुगिसको बुढीलाई पानीको चिन्ता … झनक्क रिस उठेको थियो तैनि हुन्छ आमा भनेर भित्र पसें । यस्तो ठिहिराउने जाडोमा कस्ले नुहाओस् चीसो पानीले । आमा आफुचाहीँ तातोले नुहाउनु हुन्छ । पोहोर नन्द माइत आको बेला एकादशीमा पर्दैन पर्दैन चीसो छ तातैले नुहाए हुन्छ रे । फेरि के को नाटक गर्नु पर्या होला बुहारीलाई चैं । नुहाईधुवाई सकेर कस्यार लगाएँ । आमालाई नुहाउन तातोपानी कित्लीमा तताएर स्नानको तयारी गर्दै …. बुबा, बाबु उठ्ने बेला भो चिया पकाउन बसाल सरिता म नुहाउन गएँ । ‘हुन्छ आमा…’

अब चिया बनाएर ससुरा र पतिको प्रतिक्षा गर्न बाहेक केही काम थिएन । अनि उहाँहरुको दर्शन ७ नबजी पाईन्न थियो । पकाएको चिया सेलाएर फेरि तताउनु त दैनिकी नै हो पचिसकेको बानी नौलो त थिएन मेरा लागि । अर्डर दिए पुग्ने आमालाई … एकछिन तिमी नि आराम गर थाक्यौ होला फलानोले गर्छ भनेको सुन्न मन त कति हो कति छ नि तर आमाको मुखबाट कैले सुन्न पाइएन । खाना पकाउ…, सबैलाई खुवाएर अन्तिममा खाउ… अफिस जान ढिला होस् या जेसकै होस् सबै काम सकाएरै जानुपर्ने । अझ बिदा भएको दिन त, आराम गर्न त परै जाओस् लुगा धुने, खाना खाजा सबै बनाउनै पर्यो, आमाले दुई मिनेट चामलै केलाउन सघाउनु मात्रै भो भनेनि पूरै हप्ता खुई… ढाड दुःखेर मरें भन्नुहुन्छ । पतिदेवसँग दुःख पोख्ने त हो, काम सघाउन हात लम्काउनु हुन्न । ए…के गरेको आईमाईको काम छोड्दे सरिताले गर्छे भन्ने छुन दिने होइन । 

काम सकेर एकछिन बसेर मोबाइल चलाउन थाल्यो आमाको टाउको चिलाउन थाल्छ… लु जुम्रा परेछन् क्यार सरिता एकछिन आँखा डुलाउ त मरे टाउको चिलाएर भन्नुहुन्छ । त्यो नि गर्नैपर्यो । बुहारी हुन कति गाह्रो !

त्यो बिचमा केही बोल्न हुन्न मुख चलाउँछे भन्छन्, नबोल्यो बुहारीलाई घरमा काम गर्नेको दर्जामा राखिन्छ । पाहुना आए सरिता यो पकाउ, त्यो पकाउ, जानैपर्यो, घरको काम ए सरिता यो घर त्यो गर सरिता, सरिता विना त्यो घरको हातखुट्टा भाँचिन्छन् । माईती पनि नजिकै छ भन्नु मात्र थियो । चाडबाड नआई जान नपाइने, त्यो पनि घरको काम सबै गरेर माईतबार नफर्किउन्जेल पुग्ने गरी गर्नुपर्ने, कैले त पाउला आएर घर आउ भनेर बोलाउनुहुन्थ्यो ।

कहिले नन्द माईत आउनुभए आफु माईत जान नपाइने । तिम्रो त नजिकै छ जहिले गए नि हुन्छ छोरी टाढाबाट आएकी छ भन्नुहुन्छ । मान्नैपर्यो । नन्दलाई… कति खराब तेरी सासु यस्ती उस्ती भन्न भ्याउने अनि.. नन्दकी सासुलाई सराप्ने अनि आपूmले त्यै कुरा आफ्नी बुहारीलाई गरेको राम्रो देख्ने मेरी सासु… । उता ममीको गुनासो १५ मिनेटको बाटो छ त्यैनी आउँदिनस् कैले, कति अभागी रैछस तँ … । भाग्यलाई दोष दिनुहुन्छ आमा, गुनासो गरो सासुको … धनी परिवार छ ज्वाई राम्रा हुनुहुन्छ । सासुसँग होइन तेरो जुनि बित्ने… छोरी मान्छे भएर सहन सक्नुपर्छ भन्नुहुन्छ मेरी आमा … ।

गाउँमा भन्नुपर्दा बुहारी र छोरीमा केही फरक छुट्याउनु हुन्न सासुआमा … गाउँमा सबैले तारिफ गर्छन्  ! सासु बुहारी कति मिलेको जोडी यत्रो समय भयो सरिता त्यो घरमा बुहारी बनेर आकी कहिले ठाकठुक परेको देखिन्न तेस्तो भए पो हाम्री बुहारी यस्ती छे उस्ती छे मुखाले छे भन्ने केही भन्नुहुन्छ ठाडै जवाफ फर्काउँछे … एता तपाईंले सरिता जस्ती असल संस्कारी बुहारी पाउनु भाछ भन्छन् । सासुनी मख्ख पर्दै भन्नुहुन्छ । छोेरी हो मेरो बुहारी । मैले बुहारी कहिले सम्झेको छैन । छोरी नै हुन् मेरी । यिनीविना त यो घर शून्य हुन्छ सबका हातखुट्टा भाँचे जस्तो हुन्छ … । कुरा सुनेर सबै मख्ख पर्छन् छिमेकीहरु । हाम्रो एकअर्काको माया देखेर ।

कति गाह्रो रछत संस्कारी बुहारी हुन । जवाफ नफर्काए, थाकेक िछु नभनी काम गरे, घरमा भएका सबै सदस्यलाई रिझाउन सके, कहिले कुनै कुराको दुःख नदेखाई ईष्टमित्र सबैका चित्तमा आँच आउन नदिए बल्ल हुइँदो रहेछ संस्कारी अनि आँखामा राख्दा नि नबिझाउने बुहारी । कति सजिलो बुहारीलाई छोरी सरह तुलना गर्न तर वास्तविकता कति फरक यी दुई सम्बन्धमा । गल्ती सासुको मात्र होइन, मेरी आमाको पनि छ जस्ले छोरी भएर सहन सिक्नुपर्छ भनेर सिकाउनुभयो । गल्ती पतिको पनि छ आमाले नराम्रो मान्नुहोला भनेर सबैकुरा सह कतिन्जेल बाँच्छन् र बुढाबुढी भनी ढाकछोप गर्ने अनि मेरो ससुरा बा खाना खाएर आफ्नो जुठो थाल जाँको त्यहीँ छोडेर लाजै नमानी जुरुक्क उठेर हात चुठ्ने । यदि म उहाँलाई छोरी सरह लाग्दी हुँ त माया पक्कै लाउँथ्यो होला हैन र ?

छोरा मान्छे हो जे गरेनी हुन्छ रे.. छोरा जस्तो भए नि पच्छ, जहाँ गएर जे गरे पनि चल्छ । त्यही आमाको कोखबाट जन्म लिएकी छोरीको हरेक क्रियाकलापलाई क्यारेक्टरसँग तुलना गरिन्छ । अनि सुईको टुप्पो जस्तो रे छोरीको इज्जत, एकपटक भाँचिएपछि सक्यो रे । हरेक कुरा गर्दा डराउनुपर्ने, कतै ईज्जत जाला भनेर, अझ बुहारी भएपछि त सब सक्यो । दुई परिवारको इज्जत थाम्नुपर्ने … । केही गर्न खोज्यो तिमी छोरी हैन, बुहारी हौ, बुहारी हुन सिक भन्छन् … अब तपाईं आफैं भन्नुस् त बुहारी साँच्चीकै छोरी हुन सक्लिन् त ?