अष्ट्रेलिया सरकारले नयाँ घर बनाउने वा मर्मत गर्नेलाई २५ हजार डलर अनुदान दिने

निर्माण क्षेत्रमा आबद्ध कामदारहरुको रोजगारी कायम राख्नका लागि सरकारले जुन ४ तारिखदेखि डिसेम्बर ३१ तारिखसम्म घर बनाउने वा मर्मत गर्नेहरुलाई अनुदान दिन लागेको छ । Photograph: Dan Himbrechts/AAP

अष्ट्रेलियामा सरकारले नयाँ घर बनाउने वा मर्मत गर्नेहरुलाई २५ हजार डलर अनुदान सहयोग दिने भएको छ । यो अनुदान प्राप्त गर्नका लागि सर्वसाधारणले यही जुन महिनादेखि डिसेम्बरसम्म नयाँ घर बनाउने वा भइरहेको घरमा महत्वपूर्ण मर्मत गर्ने निर्णय गर्नुपर्नेछ । यस अनुदान कार्यक्रमका लागि ६ सय ८८ मिलियन डलर छुट्याइएको छ । कोरोना संकटका कारण सर्वसाधारणले नयाँ घर किन्न वा घर मर्मत सम्बन्धी काम गर्न चासो नदिएपछि बेरोजगार बन्दै गएका कन्स्ट्रक्सन मजदूरहरुलाई काममा नै रहिरहन सहयोग पुग्ने आशाका साथ सरकारले यस्तो योजना ल्याएको हो । यसअघि सरकारले अष्ट्रेलिया गएको गत २९ वर्षपछि मन्दीको अवस्थामा पुगेको औपचारिक रुपमा घोषणा गरेको थियो ।

यस कार्यक्रम मार्फत अनुदान प्राप्त गर्नका लागि गत आर्थिक वर्षको ट्यक्स रिटर्नमा एक्लो व्यक्तिले वार्षिक १ लाख २५ हजारभन्दा कम आम्दानी गरेको हुनुपर्नेछ भने जोडीहरुको लागि २ लाख डलरसम्मको वार्षिक आम्दानी भएकाहरुले आवेदन दिनुपर्नेछ । ४ जुनदेखि ३१ डिसेम्बरसम्म सञ्चालन हुने यो कार्यक्रममा यो अवधिमा घर बनाउने वा मर्मत गर्ने सम्झौता गरेको हुनुपर्नेछ ।

यस्तै आफ्नै निवासको लागि ७ लाख ५० हजार डलरभन्दा कमको घर बनाउन लागेको वा १ लाख ५० हजार डलरदेखि ७ लाख ५० हजार डलरसम्मको मर्मत गर्ने योजना बनाएको हुनुपर्ने सर्त पनि पालना गर्नुपर्नेछ । सरकारले तोकेको अवधिभित्र खरिद वा मर्मत सम्झौता गरी त्यसको तीन महिनाभित्र काम सुरु गरिसक्नुपर्ने अर्को सर्त पनि सरकारको छ । मर्मतका लागि अनुदान माग गर्दा यस्तो व्यक्तिको घर १५ लाख डलरभन्दा कम मूल्यको हुनुपर्नेछ । मर्मत गर्ने वा पुनःनिर्माण गर्ने योजनामा भान्सा, बाथरुम लगायतलाई मान्यता दिइनेछ । स्वीमिंग पुल, टेनिस कोर्ट, आउटडोर स्पा, सौना, ग्यारेज आदि थप्ने वा मर्मत गर्ने नाममा भने यस्तो अनुदान लिन पाइने छैन । बिहीबार हुन लागेको घोषणाअघि प्रधानमन्त्री स्कट मोरिसनले नयाँ कार्यक्रम घर निर्माण र मर्मतको क्षेत्रमा काम गरेकाहरुको रोजगारी जागउने उद्देश्यका साथ आएको हो ।