डढेलो र कोरोनाको कारण अष्ट्रेलियाको अर्थतन्त्र २९ वर्षपछि मन्दीमा !

महामारीको संकटले यतिबेला अष्ट्रेलियनहरु खर्च गर्नभन्दा भोलि आइपर्ने विपतका लागि बचत गर्नतर्फ ध्यान दिन थालेका छन् । तस्वीर सौजन्य : के स्टीडम्यान, एवीसी

डेढेलो र कोरोनाको कारण अष्ट्रेलिया २९ वर्षपछि मन्दीको मारमा परेको छ । अष्ट्रेलियाका संघीय अर्थमन्त्री जोश फ्राईडेनवर्गले देश मन्दीमा गएको घोषणा गर्दै आर्थिक रुपमा गम्भीर अवस्थामा पुगेको बताएका हुन् । उनले मार्च त्रैमासिकको आर्थिक बृद्धिदर शून्य दशमलब ३ प्रतिशत मात्र भएको बताएका छन् । जुन त्रैमासिकमा पनि आर्थिक बृद्धिदर कम नै हुने आंकलन गर्दै मन्दीबाट पार पाउन विभिन्न उपायहरु खोजिने पनि उनले बताए । कोरोनाको लकडाउनकाबीच यहाँको पर्यटन ठप्प बनेको छ । यस्तै दैनिक उपभोग्य, स्वास्थ्य बाहेकका क्षेत्रमा गम्भीर असर देखिन्छ । मानिसहरु खर्च गर्नभन्दा भोलिको सम्भावित भयका कारण जोगाउनेतर्फ अग्रसर बन्दा आर्थिक सूचकांकहरु या त तल ओर्लिएका छन् या त रोकिएको अवस्थामा छन् । लेबरका नेता एवं छायाँ अर्थमन्त्री जीम काल्मर्सले डढेलो र कोरोनाभन्दा पहिले पनि सरकारको आर्थिक प्रगति सन्तोषजनक नभएको भन्दै आलोचना गरेका छन् ।