स्वदेश फर्किइन् मनिषा कोइराला, रुपन्देही नाकाहुँदै गाडीमै सरर

चलचित्र अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएकी छिन् । उनी रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी हुन् । भारतमा आन्तरिक उडान सञ्चालन भएपछि मुम्बईबाट सीमावर्ती ईलाकासम्म विमानमा र त्यसपछि गाडीमा नै परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश आएकी हुन् । उनीसँंगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ ।
भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनको परिवारको स्वास्थ्य परीक्षण गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘उहाँ बेलहिया नाकाबाट नेपाल आउनुभएको जानकारी पाएको हुँ तर कहाँ बस्नुभएको छ भन्ने जानकारी छैन ।’
नेपाली सेना पश्चिम पृतनाका प्रवक्ता प्रेम थापाले सेनालाई अभिनेत्री कोइरालासहितको परिवारको आगमन विषयमा कुनै जानकारी नभएको तर उनीहरु काठमाडौँ प्रस्थान गरेको सूचना भने पाएको जानकारी दिए । नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा उनको प्रशंसा भइरहेको छ । कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आएकी छिन् ।