दिनमा २५ सयका दरले विदेशबाट नेपालीलाई स्वदेश फर्काउने यस्तो छ तयारी

सरकारले कार्यविधि पारित गर्दै विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने तयारी तिव्र बनाएको छ । यस अन्तर्गत एकै दिनमा १० विमान मार्फत कम्तिमा २५ सय नेपालीलाई स्वदेश फर्काउने उसको तयारी छ । यसरी स्वदेश फर्काउँदा प्राथमिकताका आधारमा ल्याइनेछ । रोजगारी गुमाएका, विदेशमा आफन्त नभएका, बिरामी परेका, बृद्धबृद्धाहरुलाई पहिलो प्राथमिकता दिइनेछ । विदेशमा रोजगारीमै रहेका, पढाई सुचारु भएकाहरुले आउन चाहेमा आफ्नो पढ्ने विश्वविद्यालयबाट वा काम गर्ने ठाउँबाट पत्र समेत ल्याउनुपर्नेछ । कोरोनाका कारण पढाई प्रभावित भएको वा काम रोकिएको व्यहोराको यस्तो पत्रविना उनीहरु स्वदेश फर्कन पाउने छैनन । 

यस्तै सरकारले स्वदेशमा आएपछि विमानस्थलको होल्डिंग एरियाबाट नै सम्बन्धित प्रदेश सरकारहरुलाई जिम्मा दिने तयारी गरेको छ । यो जिम्मेवारी नेपाली सेनाले लिनेछ । विमानस्थलमा उत्रिनेवित्तिकै उनीहरुलाई पाँचतारे होटलमा राख्ने तयारी भएपनि पाँच तारे होटलहरुले दिनको २ हजारमा उनीहरुलाई राख्न नमानेका कारण सरकारले यसको विकल्पबारे सोचिरहेको छ । काठमाडौंका अन्य साना होटलहरुले यो कार्यमा सघाउने अपेक्षा छ ।

अहिलेसम्म ७ सय कोठाहरु यसरी विदेशबाट आउनेहरुको लागि तयारी अवस्थामा रहेको र यो संख्या बढाएर १२ हजार ५ सय बनाउने लक्ष्य छ । यसैको तयारीस्वरुप अन्तर्राष्ट्रिय विमानस्थलमा मार्किंगको कार्य भइसकेको छ भने यहाँ खटिने सबै कर्मचारीको सुरक्षा, यहाँ आउने यात्रुहरुले पालना गर्नुपर्ने विधि लगायतमा पनि योजना तर्जुमा भइसकेको छ । तस्बिरः सुजन गुरुङ