कोरोनाका कारण लाउन्ड्रीमा काम गर्ने सिड्नीका सयजनाभन्दा बढी नेपालीले काम गुमाए !

सिड्नीको एक लाउन्ड्रीमा काम गर्ने सयजनाभन्दा बढी नेपालीले आगामी अप्रिल २८ तारिखदेखि रोजगारी गुमाएका छन् । उनीहरु कार्यरत रहेको कम्पनी साउथ प्यासिफिक लाउन्ड्रीले सिड्नीमा कार्यरत आफ्ना २ सय ३६ कामदारमध्ये १ सय ८३ जनालाई ईमेल लेख्दै सरकारबाट जब किपर पेमेन्ट प्राप्त नभएको अवस्थामा काममा नआउन भनेको थियो । २८ अप्रिलदेखि अनिश्चितकालका लागि काम दिन नसक्ने बताएको हो । एसवीएसका अनुसार यी कामदारहरुलाई कुनै स्थिति सुधार हुने बित्तिकै सम्पर्क गरिने जानकारी समेत दिइएको छ ।

एक महिना वितिसक्दा पनि कुनै खबर नआएका कारण कामदारहरु चिन्तित बनेका छन् । एसवीएसको सम्पर्कमा आएका एकजनाले भने, “उनीहरुले केही भनेका छैनन् । काम पनि भएको छैन, आउँछ कि भन्ने आशामा कुर्न भने बाध्य छौं । हामीहरु साथीभाई सरसापटी गरेर जीवन चलाइरहेका छौं ।” उनले थपे, “केही सञ्चित बिदाको रकम दिइएको थियो यसले पनि सहयोग भयो । ”
प्रभावित कामदारहरु र युनियनले भने कम्पनीले पारदर्शी जानकारी उपलब्ध नगराएको आरोप लगाएका छन् । उनीहरुले संघीय सरकारको जब किपर पेमेन्ट नआउने भएका कारण अस्थायी भिसामा रहेका कामदारलाई हटाइएको बताएका छन् ।
उनीहरुको गुनासो छ, “कोरोना भईरसले कसैलाई भेदभाव गरकेो छैन । तर, हामी अस्थायी भिसामा भएकै कारण हामीमाथि विभेद भयो ।”

उनीहरुले आपत परेको बेला कुनै सहयोग नपाइने हो भने कर तिर्नुको के अर्थ भनेर आक्रोश पनि व्यक्त गरेका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्ड्रयू रोब्सनल आफुहरुले कुनै विभेद नगरेको दावी गरेका छन् । कुनैपनि अवसर आउँदा आफ्ना प्रभावित कर्मचारी पहिलो प्राथमिकतामा रहने पनि उनले बताए ।