‘इम्बोस्ड नम्बर प्लेट’ राख्ने सरकारको तयारी, अनुगमन अझ प्रभावकारी बन्ने विश्वास


embaosedभौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी साधनमा देखिएको अव्यस्था हटाएर ‘इम्बोस्ड नम्बर प्लेट’ राख्ने तयारी गरेको छ । विभिन्न खालका नम्बर प्लेट भएकाले सवारी साधनलाई नियमन गर्न अप्ठ्यारो परेको भन्दै त्यसखालको नम्बर प्लेट राख्न लागेको बताएको छ । हाल सरकारले सार्वजनिक, निजी, संस्थान, पर्यटक गरी १४ वटा नम्बर प्लेट राख्न पाउने व्यवस्था गरेको छ । तर इम्बोस्ड नम्बर प्लेट सञ्चालनमा आएपछि पाँचवटा मात्रै नम्बर प्लेट हुने र सवारी साधनको नियमन र नियन्त्रण गर्न सहज हुने मन्त्रालयको विश्वास छ । निजी नम्बर प्लेट भएका सवारी साधनले यात्रु बोक्न नपाउने व्यवस्था भएपनि सवारी धनीले उक्त नियम नमानेको, पर्यटकसमेत बोक्ने गरेको अवस्थालाई अन्त्य गर्नु आवश्यक रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकै पहलमा विमानस्थलमा रहेका पुराना ट्याक्सी हटाएर नयाँ सुविधा सम्पन्न ट्याक्सी राखिएको र २० वर्षे पुराना सवारी साधन हटाउने योजनामा मन्त्रालय रहेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसी सिटौलाले यातायात व्यावसायी मर्यादित बन्नुपर्ने र सरकारी नियमलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । पुराना सवारी साधन नहटेका कारण पछिल्ला दिनमा सवारी दुर्घटनाको सङ्ख्यासमेत बढेको जानकारी दिँदै सचिव सिटौलाले दुर्घटना नियन्त्रणका लागि नीतिगतरुपमा पनि सरकार कडारुपमा प्रस्तुत हुन लागेको बताउनुभयो । मुलुकको आर्थिक स्वास्थ्यसँग जोडिएको पर्यटन उद्योगलाई बढावा दिन सरकार क्रियाशील रहेको भन्दै सचिव सिटौलाले पर्यटक सवारीसँग जोडिएका समस्या समाधानका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पनि छलफल जारी रहेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पर्यटन सवारी व्यावसायी सङ्घका अध्यक्ष रामशरण कार्कीले सरकारको गैरजिम्मेवारीका कारण पर्यटक सवारी सञ्चालनमा समस्या परेको जानकारी दिनुभयो । उहाँले काठमाडौँ उपत्यकामा पुरातात्विक क्षेत्रमा सवारी साधनको पार्किङमा समस्या परेको, पर्यटकीय गन्तव्य स्थलसम्म भारतीय पथप्रदर्शक नै प्रयोग गरी पर्यटकलाई दृश्यावलोकन गराउने, तेस्रो देशबाट आएका पर्यटकको सवारी प्रबन्ध गरिएको, नेपालको विमान स्थलसम्म उनीहरूले नै आवतजावत गराएको भन्दै आपत्ति प्रकट गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]