राजधानी मालेमा पानीको सङ्कटपछि मालद्वीपद्वारा विपत्तिको घोषणा, भारतले लगिदियो ट्यांकरमा पानी


maldivesमालद्वीपको राजधानी मालेमा रहेको पानी प्रशोधन संयन्त्रमा आगो लागेपछि पानीको कमी भएपछि भारतले शुक्रबार मालद्वीपमा हवाई मार्गबाट पानी ढुवानी गरेको छ । पानी आपूर्तिको कमीका कारण राजधानीका पसलहरूमा झगडा तथा आक्रमण भएका छन् । बिहीबार आगो लागेपछि मालेमा पानीको सङ्कट देखा परेको थियो । यो विश्वको सबैभन्दा बढी जनघनत्व भएको स्थानमध्ये एकमा पर्छ । यसपछि अधिकारीहरूले यहाँको अवस्था विपत्तिको जस्तै भएको घोषणा गरेका छन् । भारतको वायुसेनाले पानीका बोतलहरू यस सानो नगरमा पु¥याइदिएको छ भने अधिकारीहरू उक्त संयन्त्र मर्मत गर्न खटिएका छन् । शुक्रबार अपराह्नसम्म पनि नगरका धेरै भागमा खानेपानीको अभाव देखिएको छ । स्थानीय आमसञ्चारले स्थानीय बासिन्दाले पानी प्राप्त गर्न पसलमा आक्रमण गरेको जानकारी दिएका छन् । पसलेहरूले पनि खानेपानी बोतल सीमित रूपमा वितरण गरिरहेको बताएका छन् । राजधानीका होटेलहरूले खानेपानीको आपूर्ति निकै कम भएको जानकारी दिएका छन् । यो सङ्कट यो पर्यटकीय मुलुकका अन्य द्वीपमा परेको छैन । ती स्थानमा आफ्नै ऊर्जा उत्पादन तथा पानी प्रशोधन केन्द्र रहेको बताइएको छ । निजी मिनिभान न्युज वेबसाइटले उक्त पानी प्रशोधन संयन्त्र मर्मत गर्न पाँच दिन लाग्नसक्ने जानकारी दिएको छ । एक स्थानीय बासिन्दाले सरकारले सोचेभन्दा परिस्थिति निकै गम्भीर भएको बताए । यहाँ एक बर्ग माइलको क्षेत्रमा करिब एक लाख २० हजार व्यक्तिको आवास रहेको छ र यहाँ हाल सुरक्षाकर्मीले निःशुल्क रूपमा पानी उपलब्ध गराइरहेका छन् । पानी आपूर्ति कार्यकर्ताहरूले मालद्वीपको परिचयपत्र भएका व्यक्तिलाई मात्र पानी आपूर्ति गर्न सकिने जानकारी दिएका छन् । यसको अर्थ बङ्गलादेश, भारत, नेपाल तथा श्रीलङ्काबाट आएका हजारौँ कामदारले पानी पाउन नसक्ने देखिन्छ । भारतले शुक्रबार नै दुई थप विमान पानी पनि लगेको छ । भारतले नौसेनाका दुई पेट्रोल जहाज दुई पानी प्रशोधन संयन्त्रसहित पठाइरहेको छ । यी संयन्त्रले एक दिनमा २० टन खानेपानी प्रशोधन गर्नसक्छ । छिमेकी श्रीलङ्काबाट आउने सबै उडानमा पानी ढुवानी भएको मालद्वीपको विदेश मन्त्रालयलाई उद्धरण गरी मिनिभानले उल्लेख गरेको छ । मन्त्रालयले अमेरिकी नौसैनिक जहाज पनि पानी लिएर मालद्वीपतर्फ गएको जानकारी दिएको छ । चीनले पनि सहयोग गर्ने बचन दिएको बताइएको छ । मालद्वीपको रेड क्रिसेन्टले सरकारको पानी वितरण केन्द्रलाई सञ्चालन गर्न आफ्ना २४ कर्मचारी तथा ६० आपत्कालीन स्वयंसेवी कार्यरत रहेको जानकारी दिएको छ । समुद्रको सतहभन्दा तल्लो तहमा रहेको मालेमा वर्षाको पानी जोगाउने प्रभावकारी प्रणाली रहेको जानकारी दिइएको छ । यसो भए पनि यहाँ जमिन मुनिको पानी खान तथा भाडा माझ्न प्रयोग गर्न सकिन्न । यसैले स्थानीय बासिन्दा प्रशोधित पानीमा भर पर्छन् । मालेका धेरै बासिन्दा हाल यस समस्याबाट अप्रभावित भिलिनजिली तथा हुलहुमाले द्वीपतर्फ गएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]