एभरेष्ट भ्यू ट्राभल्सको ठगी प्रकरण कानूनी समाधानको बाटोमा, एनआरएन र महावाणिज्यदूतावासले सघाउने !

अष्ट्रेलियाको मेलबर्नमा सञ्चालित एभरेष्ट भ्यू ट्राभल्सले मनी ट्रान्सफर, फर्जी टिकट बिक्री र क्रेडिट कार्डबाट समेत विभिन्न व्यक्तिको करिब ४ लाख डलर ठगी गरेको विषयलाई कानूनी प्रक्रिया मार्फत समाधान खोजिने भएको छ । यसअघि, पीडित र पीडक दुबै नेपाली नै भएका कारण दुबै पक्षलाई सँगै राखी यसको समाधान खोज्ने र पीडितको डुबेको रकम फिर्ता गराउने प्रयास असफल भएपछि यो प्रकरणमा नयाँ मोड आएको हो । बिहीबार स्थानीय एक रेष्टुरेन्टमा सम्पन्न भएको छलफललले अब कानूनी बाटोबाट मात्रै यसको समाधान खोज्न सकिने निष्कर्ष निकालेको हो । उक्त छलफलमा उपस्थित भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले आफुहरुले पहिलो चरणमा पीडितहरुसँग छलफल गरी पीडक भनिएको एभरेष्ट भ्यू ट्राभल्सका निर्देशक रामजी पौडेलसँग छलफललाई जारी राखेको बेला नेपालबाट सञ्चालित न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा यस विषयमा समाचार आई पौडेल, एभरेष्ट भ्यू ट्राभल्स लगायतको परिचय सार्वजनिक भइसकेको अवस्थामा निजले छलफलमा आउन अस्वीकार गरेको र अब कानूनी प्रक्रियाबाट अघि बढ्न चाहेको आशयको सन्देश आफुलाई पठाएको जानकारी गराएका थिए । साथै उनले, आफुहरुको कार्यलाई गलत रुपमा व्याख्या गर्दै समाचार सम्प्रेषण भएको दावी गरे । उक्त अवसरमा महावाणिज्यदूतको कार्यालयको तर्फबाट प्रकाशित विज्ञप्ति पनि वितरण गरिएको थियो । विज्ञप्तिमा भनिएको छ –

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु,

गत फेब्रुअरी ५ तारिखमा केही नेपाली सञ्चारमाध्यममा अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि नेपाली अवैतनिक महावाणिज्यदूत कार्यालय र स्वयंम महावाणिज्यदूत चन्द्र योन्जनको विषयमा आएका अतिरञ्जनापूर्ण लाञ्छनाले विशेष ध्यानाकर्षण गराएको छ । उक्त लाञ्छना निराधार भएको स्पष्ट गराउँदै सो विज्ञप्ति जारी गरिएको जानकारी गराउँदछौं ।

विशेषतः नेपालबाट सञ्चालित न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँगमा अष्ट्रेलियामा केही “नेपालीहरु अवैध हुन्डी कारोबारमा ठगीमा परेको” विषय प्रस्तुत गर्ने क्रममा महावाणिज्यदूत कार्यालयको भूमिका शंकास्पद रहेको भन्दै लगाइएको आरोप निराधार रहेको जानकारी गराउँदछौं । यसले जनमानसमा भ्रम सिर्जना गर्नेहुँदा केही विषय स्पष्ट पार्न चाहन्छौं ।

1. अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुप्रति हामी पूर्णत उत्तरदायी छौं ।
2. रकम ठगी र अनियमित आर्थिक कारोबारका विषयमा दुबै पक्ष (पीडक र पीडित) नेपाली नै भएका कारण हामीले यसमा मध्यस्थता गरेका हौं ।
3. पीडितको पैसा कुनैपनि हालतमा फिर्ता हुनुपर्छ भन्ने हाम्रो पहिलो सर्त हो ।
4. सहमति गरी पीडितको फसेको रकम फिर्ता गराउने हाम्रो प्रयास जारी रहँदा पनि प्रहरी प्रशासन या अन्य कुनै कानून कार्यान्वयन गर्ने निकायमा जानका लागि पीडित सबैजना स्वतन्त्र हुनुहुन्छ ।
5. यो मध्यस्थताका क्रममा महावाणिज्यदूतको कार्यालय, एनआरएन अष्ट्रेलिया र नेप्लीज एशोसिएसन अफ भिक्टोरिया मध्यस्थतामा संलग्न छौं ।
6. हाम्रो मूल उद्देश्य पीडितको रकम फिर्ता गर्ने भएपछि त्यसका लागि (पीडक र पीडित) दुबै पक्षलाई स्थितिको बोध गर्दै धैर्यताका साथ यो प्रक्रियालाई अगाडि बढाउनु पर्दछ भनिएकै हो ।
7. व्यवसायिक क्षति र घाटा भएको अवस्थामा कम्पनीहरुले टाट पल्टिएको घोषणा गर्न सक्दछन् । यस्तो अवस्थामा पीडितहरुको पैसा गुम्ने खतरा हुनसक्छ । तसर्थ हामीले मध्यस्थता गरी पीडितको पैसा फिर्ता गर्न प्रयास गरिरहेका छौं ।
8. अष्ट्रेलियामा एस्ट्रयाकमा दर्ता भइसकेपछि रेमिट्यान्सको कारोबार गर्न स्वीकृति लिएको मानिन्छ । सम्बन्धित कम्पनीले आफुले दर्ता गरेर नै व्यवसाय सञ्चालन गरेको बताएका छन् ।
9. नेपालमा हुन्डीको कारोबार अवैध छ । यस्तो कारोबार गर्न पनि हुँदैन र गराउन पनि हुँदैन । यस्तो कार्यमा संलग्न भएको पाइएमा त्यस्तो व्यक्तिलाई नेपालको प्रचलित कानून अनुसार कारवाही हुन्छ ।

यस सँगै कार्यक्रममा महावाणिज्यदूत चन्द्र योन्जनलाई कार्यक्रममा प्रशारित हुन लागेको रिपोर्टको विषयमा स्पष्ट जानकारी नरहेको र कार्यक्रम सन्चालन टिमले स्थानीय समय मध्यविहान ३ बजे लाईभ आउन निरन्तर अनुरोध गरिरहेको अवस्थामा लाईभ आएर उक्त विषयलाई निष्पक्ष तरिकाले स्पष्ट गर्ने प्रयास गरिएपनि त्यस विषयलाई पक्ष र विपक्षको दृष्टिकोणबाट हेरिदिदाँ र अत्यन्त गलत बुझाईको साथ टिकाटिप्पणी गरिदिएकोमा हामी दुःखी छौं ।

यस विषयमा के भएको हो र के भइरहेको छ भनी थप बुझ्नका लागि हाम्रो कार्यलयमा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंका कुनै पनि जिज्ञासालाई हामी सहयोग गर्न सदैव तत्पर छौं ।

हामीलाई [email protected] इमेल तथा [+61 3] 9650 8338 फोन मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।

धन्यवाद ।
कार्यक्रममा उपस्थित यस प्रक्रियामा पीडितलाई सहयोग गर्न सुरुदेखि नै संलग्न दिपा राई, एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल, अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष तथा चिकित्सक डा. चन्द्रदिपक पोखरेल, नागरिक अगुवा जोग लिम्बु लगायतले पीडितहरुको साथमा आफुहरु सदैव रहेको र उनीहरुलाई आगामी दिनमा आइपर्ने हरेक पाईलामा सहयोग गर्ने बचन दिएका थिए । तर, यो कानूनी प्रक्रियाको नेतृत्व पीडितहरुले नै गर्नुपर्ने उनीहरुको धारणा थियो । कार्यक्रममा उपस्थित पीडितहरुले आफुहरुबाट नगद लिएको रकम कहाँ कसरी डुब्यो ? के भयो त्यो रकम ? भनी आक्रोशपूर्ण प्रश्न गरेका थिए । यद्यपि यसको जवाफ दिनका लागि एभरेष्ट भ्यू ट्राभल्सको तर्फबाट कोही व्यक्ति उपस्थित थिएनन ।

उक्त अवसरमा भिक्टोरिया प्रहरीका अधिकारी परशुराम शर्मा लुईटेलले पीडितहरु प्रहरीकोमा उजुरी गर्न आइसकेको र अन्य सबैले पनि प्रहरीमा उजुरी गर्दा यो प्रक्रियालाई आफुले सहयोग गर्ने बताएका थिए ।

पीडितहरुले एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष एवं अधिवक्ता टोनु घोतानेबाट कानूनी परामर्श लिएको र यस प्रकरणमा तीन तहको समूह बनाई अघि बढ्ने बताएका थिए । यद्यपि कसैले आफैं अन्य कानूनी सहायताको बाटोमा जान चाहेमा त्यसका लागि पनि स्वतन्त्र रहेको उक्त अवसरमा बताइएको थियो । सम्पर्कमा आएका करिब ५० जनाबाट ४ लाख डलरभन्दा बढी रकम उक्त ट्राभल्स, मनी ट्रान्सफरबाट अपचलन भएको छ । उक्त छलफल कार्यक्रममा भिक्टोरियाको नेपाली समूदायको तर्फबाट विभिन्न संघ संस्थाका उच्च नेतृत्व र सामाजिक अभियन्ताहरु उपस्थित थिए । सबैले एकमतले पीडितहरुलाई न्याय दिलाउने कार्यमा आफुहरु सदैव लाग्ने जानकारी दिएका थिए ।
पीडितहरुले आफुहरुले अत्यन्तै दुःख गरेर कमाएको पसिनाको कमाई यसरी अर्को नेपालीले नै ठग्दा धेरै दुःख लागेको प्रतिक्रिया दिए । एभरेष्ट भ्यू ट्राभल्सबाट ठगिनेहरुमा विद्यार्थी पनि छन् ।
ठगिनेहरुको नाम गोप्य राख्दै उक्त रकम विवरण यहाँ हामी प्रस्तुत गर्दछौं –

1.  Aryal $9000.
2. Tarmakar $10000 (Money Transfer)
3. Sah $5463
4. Gurung $6865.
5. Karki $3682 (Money Transfer)
6. Khadka $ 4308
7.Khatri $6500.
8 Thapa $1500.
9 Shrestha $33,000(Money Transfer)
10. Bojimayo $5010. (Money Transfer)
11.Sunture $32000. (Money Transfer)
12.R. $5425. Air Ticket
13. Shrestha $5635 (Money Transfer)
14.Oli $8750 (Money Transfer)
15. Shrestha 15,000, HSBC credit Card
16. Thapa 8885, HSBC Credit Card
17. Bagale $6358
18 Gurung $22641
19. Shrestha $6000 (Money Transfer)
20. Shrestha $3000
21. Shrestha $1000
22.Yadav $9000
23. Poudel $6200 ( HSBC)
24. Shrestha $8010
25. Chhatkuli $3752-(Money Transfer)
26. Agarwal $6415
27. Pokhrel $32000
28. Shrestha – $ 8010-(Money Transfer)
29. N.-$36,000 HSBC Credit Card
30. Shrestha -$12,000 HSBC Credit Card
31. Shrestha -$2450.
32. Shrestha-$4000.
33.H. $3860.
34. Pradhan $2000.
35. Rijal $51338(Money Transfer)
36. Adhikari : $6000.(Money Transfer)
37. Thapa  $2450 Air Tickets.
38. Yadab $875.
39.Chamaa $9990  HSBC Credit Card
40. Gurung $12,500  HSBC Credit Card
41. Maharjan $12000 HSBC Crdit Card
42. Katuwal $15000 HSBC Credit Card
43. Bajrachrya- $ 10000
44. Dhungana-$1090 Air Ticket
45. Kunwar – $ 3500 – Air Ticket
पीडितहरुको संख्या थपिने क्रम जारी छ । यस विषयमा हामीले प्रतिक्रियाका लागि एभरेष्ट भ्यू ट्राभल्सका निर्देशक रामजी पौडेलसँग पटक पटक सम्पर्क गर्ने प्रयास गर्दा सफल हुन सकेन ।