परम्परामा अर्को पाईला, थारुहरुले दोश्रो पटक मनाए सिड्नीमा माघी

अघिल्लो वर्षबाट व्यवस्थित रुपमा अष्ट्रेलियमा थारुहरुको पर्व माघी मनाउने क्रमले यो वर्ष पनि निरन्तरता पायो । सिड्नीमा थारु सोसाइटी सिड्नी अष्ट्रेलियाको आयोजनामा मनाइएको माघीमा थारुसहित अन्य नेपाली समुदायका ब्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।
स्थानीय टेम्पे पार्कमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता दिप नारायण चौधरीले गरे । उपस्थित अतिथिहरुलाई थारु पगडी गुथेर स्वागत गरिएको थियो । नयाँ परम्पराको सुरुवात गरेका थारुहरुले सिड्नीमा आफ्नो संस्कृति झल्कने भेषभूषा सहित बिभिन्न परम्परागत परिकारहरुको व्यवस्था गरेका थिए । त्यहाँ थारूले लगाऊने पहिरन बारे प्रदर्शनी पनि भयो । कार्यक्रमको प्रमुख आकर्षण भने पहिलो पटक गरेको थारू लाठ्ठी नाच थियो। अष्ट्रेलियाका विभिन्न ठाउँमा विगत केही दिनदेखि लागेको डढेलोका पीडितहरुलाई सहयोग जुटाउन डोनेसन बक्स पनि राखिएको सोसाइटी का पव्लिक अफिसर अरून आर्यन चौधरीले बताए । कार्यक्रमका प्रमुख अतिथि शिव प्रसाद चौधरी, एनआरएनका उपाध्यक्ष देव गुरूङ, प्रबक्ता नन्द गुरूङ, निन्फाका महासचिव कर्ण राजवंशी, उपाध्यक्ष लक्ष्मण गुरूङ, एक्सपर्ट एजुकेशनका सञ्जीव शर्मा लगायतका वक्ताले संस्कृतिको जगेर्नाको कार्यलाई प्रशंसा गर्दै परम्पराको निरन्तरता दिन सुझाव दिएका थिए ।