सञ्चारकर्मी रवि लामिछाने निर्दोष भएको जिल्ला अदालत चितवनको ठहर, तीनैजनालाई सफाई

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेलाई चितवन जिल्ला अदालतले निर्दोष ठहर गरेको छ । आत्महत्या दुरुत्साहनको आरोप लागेका लामिछानेसहित तीन जनाले नै सफाइ पाएका हुन्। जिल्ला अदालतको चितवनले सफाई गर्ने निर्णय गरेपनि फैसलाको पूर्णपाठ आउन बाँकी छ । न्यायाधीश हेमन्त रावलको इजलाशले उनलाई निर्दोष ठहर्‍याएको हो।

दुरुत्साहनको मुद्दामा पक्राउ परेका संचारकर्मी लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले गत भदौ ९ गते आदेश दिएको थियो।

जिल्ला अदालत चितवनका न्यायाधीश रावलकै इजलाशले रविलाई पाँच लाख, युवराजलाई तीन लाख र अस्मितालाई साधारण तारिकमा छोड्न आदेश दिएको थियो। संचारकर्मी लामिछाने र पत्रकार कँडेलले उच्च अदालत हेटौंडा साधारण तारिकम रिहा हुन उजुरी समेत दिएका थिए। मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ। आत्महत्या दुरुत्साहनमा ५ वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । अदालतको आदेशपछि अब प्रहरीले यस विषयलाई थप अघि बढाएर उच्च अदालतमा लैजान्छ वा जिल्ला अदालतको निर्णयलाई नै मानेर अघि बढ्छ यो भने हेर्न बाँकी नै छ । अर्कोतर्फ, पुडासैनीको आफन्तको तर्फबाट यो मुद्दालाई कसरी लिइन्छ यो पनि प्रतिक्षाकै विषय बनेको छ ।