अग्नी सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय, उपसभामुख तुम्बाहाम्फेको राजीनामा आउने

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठकले रिक्त सभामुख पदमा अग्नी सापकोटलाई उम्मेदबार बनाउने निर्णय गरेको छ । यो निर्णयसँगै अब उपसभामुख शिवामाया तुम्बाहाम्फेले सोमबार राजीनामा दिने र सभामुखको लागि बाटो खुल्ला गर्ने बताइएको छ ।

बालुबाटारमा आइबार बसेको सचिवालय बैठकले सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद सापकोटालाई सभामुख पदका लागि सिफारिस गर्ने निर्णय गरिएको नेकपाका नेता विष्णु पौडेलले बताउनुभयो । साँगाचोकगढी नगरपालिका ४, सिन्धुपाल्चोक कुबिन्डेमा जन्मनु भएको सापकोटा वि।सं २०३० सालदेखि विद्यार्थी राजनीतिमा आवद्ध हुनुहुन्थ्यो ।

२०३६ सालमा तत्कालीन संयुक्त जनमोर्चाको चौंथो जिल्ला महाधिवेशनबाट संस्थापक जिल्ला सचिव र २०४८ सालमा केन्द्रीय सदस्य हुँदै उहाँ २०५१ सालदेखि नेकपा ‘माओवादी’ मा आवद्ध हुनुभएको थियो ।

File photo : Agni Sapkota

उहाँले जनयुद्धका बेला भूमिगत भई विभिन्न मोर्चामा रहेर काम गर्नुभएको थियो यस अघि सूचना तथा सञ्चारमन्त्री हुनुभएका सापकोटा जनयुद्धका बेला सरकारसँगको पहिलो वार्ता टोलीमा सदस्य रहनुभएको थियो । उहाँ २०७४ सालमा माओवादी स्थायी समिति सदस्य हुनुका साथै २०७५ मा नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’मा स्थायी समिति सदस्य बन्नुभएको थियो । उहाँ २०६४ र २०७० सालमा सिन्धुपाल्चोक–२ बाट संविधानसभा सदस्य निवार्चित हुनुभएको थियो ।

त्यस्तै, २०७४ सालमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसअघि सापकोटासँगै महिला नेतृ पम्पा भुसाल पनि सभामुख बन्ने नेकपाका उम्मेद्वारको सूचिमा थिइन् । तर, सचिवालयले सर्वसम्मतिले सभामुखमा उनलाई चुनेपछि लामो समयदेखिको सभामुखको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।