बामदेव गौतम बने नेपाल कम्युनिष्ट पार्टीको उपाध्यक्ष, विधान पनि संशोधन

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ । एकसाता लामो स्थायी कमिटीको बैठक सकिएसँगै गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो ।

महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि गौतमलाई उपाध्यक्ष बनाउने बाटो खुलेको हो । यसअघि नेकपामा उपाध्यक्ष रहने व्यवस्था थिएन।

सचिवालय बैठकले उपाध्यक्ष बनाउने निर्णय गर्दै विधान संशोधन प्रस्ताव गरेको थियो। नेकपामा अब एक उपाध्यक्ष रहने विधानमै व्यवस्था हुने भएको छ।

मंसिर २९ गतेदेखि चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलले राखेका बेग्लाबेग्लै प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका थिए।