म्याग्दीको सुनधारामा दुर्लभ हिममानव यतीको सम्भावना, सुनको खानी पनि भेटिने स्थानीयको भनाई


yetiम्याग्दी जिल्लाको चिमखोला र कुइनेमङ्गले गाविसको सिमानामा अवस्थित धौलागिरि हिमालको पूर्व दक्षिण मोहडाको बेस क्याम्प नजिकको खोचमा दुर्लभ हिममानव (यती) पाइन सक्ने बलियो सम्भावना रहेको छ । धौलागिरि हिमालको बेस क्याम्प नजिकै रहेको सुनधारा र सुनधाराको पूर्व दक्षिणतर्फ फैलिएको सहस्रधारामा पहेँेलो वर्णको मानवाकृति देखिने गरेको र सो मानवाकृति दुर्लभ यती हुनसक्ने चिमखोला गाविस–१ का मख्खेबहादुर बुढाले बताउनुभएको छ । बुढाका अनुसार करिब ७५ वर्ष पहिला यहाँबाट दर्जीथरका एक जना व्यक्तिले सुन निकाल्दै गर्दा सुनधारादेखि करिब ६० मिटर पूर्वपट्टि रहेका सहस्रधाराबाट एउटा पहेँलो वर्णको मानव आकृति आएर हात काटिदिएको किम्वदन्ती रहेको छ । सो पहेँलो वर्णको मानवाकृति नै दुर्लभ यती भएको पनि स्थानीय बासिन्दाले बताएका छन् । बुढाका अनुसार धौलागिरि हिमाल अगाडिको कुइने मङ्गलेतर्फको सेतो डाँडोमा अहिले पनि कहिलेकाहीँ पहेँलो वर्णको मानव आकृति देखिने गरेको र सो आकृति कुप्रोपरेर हिँड्ने वृद्ध मानिसको जस्तो रहेको बुढाले जानकारी दिनुभयो । विशेष गरी कुइने मङ्गलेतर्फको सो डाँडोमा माघ फागुन महिनामा हिउँ परिरहेका बेला सो आकृति देखापर्ने स्थानीय बासिन्दाले बताएका छन् । अद्भूत प्राकृतिक सौन्दर्यता र दुर्लभ वन्यजन्तुको वासस्थान रहेको सो क्षेत्रको वास्तविक पहिचान गरी खोज तथा अनुसन्धान गर्ने हो भने अमूल्य धातु र दुर्लभ यतीसमेत भेटिने प्रवल सम्भावना रहेको स्थानीय बासिन्दाले दाबी गरेका छन् । केही वर्षअघि चिमखोला निवासी धु्रवकुमार पाइजालगायतका युवाको पहलमा गरिएको धौलागिरि हिमाल, सुनधारा, सहस्रधारालगायत त्यस क्षेत्रको भिडियो छायाङ्कनमा पनि निकै रोमाञ्चकारी दृश्य रहेका र ती दृश्यको आधारमा खोजीकार्य अघि बढाउने हो भने पनि यथार्थ पत्ता लगाउन सकिने स्थानीयको भनाइ रहेको छ । सो क्षेत्रमा सुनखानीको समेत सम्भावना रहेकाले सरकारी निकायबाट त्यसको खोज अनुसन्धान हुनु आवश्यक रहेको स्थानीयको भनाइ रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]