महरा प्रहरी हिरासतमा, पक्राउपछि फेरि बालुवाटार लग्नुको कारण यस्तो

आईतबार साँझ सरकारी निवासबाट पक्राउ परेका कृष्णबहादुर महरा फेरि हिरासतबाट सरकारी निवास फर्केका छन् । तर, उनी सरकारी निवास फर्किएपनि अहिले सिंहरदरबा बृत्तमा नै छन् ।
खासमा उनी सरकारी निवास फर्कनुको कारण स्वास्थ्य हो । पक्राउ पर्ने वित्तिकै वीर अस्पतालमा लगेर उनको स्वास्थ्य परीक्षण गर्दा अक्सिजनको कमी देखिएपछि उनको उपचारका लागि सरकारी निवास लगिएको थियो । जहाँ उनका निजी चिकित्सकले उपचार गरेका थिए । उपचारपछि प्रहरीले फेरि सिंहदरबार बृत्तमा लगेर राखेको छ । कृष्णबहादुर महराको यस पटकको दशैं प्रहरी हिरासतमै बित्ने भएको छ । किनकि, उनको बयान आगामी मंगलबार मात्र सम्भव देखिएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसारमहराको बयान अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै सुरु हुनेछ । 

‘दशैंपछि अदालत खुल्नेछ र म्याद थप गर्नेछौं’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि सरकारी वकिलको रोहबरमा बयान लिनेछौं ।’ अदालतको दशैं विदा २६ गतेसम्म छ । तर पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि अदालतमा विदा दिइएको छ ।

अर्को सोमबार अदालत तथा सरकारी वकिलको कार्यालय खुलेपछि अदालतमा हाजिर लगाउने, बयान लिने काम सुरु हुनेछ । घटनाको मुद्दा भने काठमाडौं प्रहरी परिसर, टेकुबाटै चल्नेछ । ‘परिसरले मुद्दा टेकओभर गरेको हो’, एसएसपी सुवेदीले भने, ‘यहाँ प्रहरीको अस्थायी बसाई भएकाले सिंहदरबारमै राखिएको हो ।’
उनको आरोप पुष्टि भए पाँच वर्षसम्म जेल हुन सक्नेछ ।