कामना फिल्म एवार्ड २०७१ सम्पन्न, हरिप्रसाद रिमाललाई लाईफटाईम एचिभमेन्ट एवार्ड, उत्कृष्ट हिरो हिरोईन केकी र आर्यन

नेपाली चलचित्रको उत्थान तथा विकासमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याउँदै आएको ‘कामना’ फिल्म मासिकले सिजी इन्टरटेनमेन्टको सहकार्यमा पहिलो पटक आज “सिजी कामना फिल्म अवार्ड–२०७१” दिएको छ । तीन दशक लामो यात्रा पार गरेको ‘कामना’ले आफ्नो ३१ औँ वार्षिकोत्सवका अवसरमा आज ख्यातिप्राप्त पुराना तथा नयाँ पुस्ताका चलचित्रकर्मीलगायतको उपस्थितिमा सम्मान दिएको हो । प्रतिस्पर्धाका आधारमा मुख्य अवार्ड, प्राविधिक अवार्ड र अप्रतिस्पर्धी रूपमा सम्मान, क्रिटिक्स एवम् जुरी अवार्ड गरी पाँच भागमा विभाजन गरिएको सिजी कामना फिल्म अवार्ड ३१ विधामा प्रदान गरिएको छ । सोअनुरूप नेपाली चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याई यसै क्षेत्रमा जीवन बिताउने कलासाधक हरिप्रसाद रिमाललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड–२०७१’ प्रदान गरिएको छ । उहाँले ‘हिजोआज भोलि’, ‘आमा’, ‘सन्तान’, ‘के घर के डेरा’जस्ता चलचित्रमा अभिनय गर्नाका साथै एक सयभन्दा बढी चलचित्रमा गीतसङ्गीत दिनुभएको छ । त्यस्तै रु एक लाख राशिसहितको ‘कीर्तिमय दीर्घ योगदान सम्मान–२०७१’ प्राविधिक साधक छायाकार बैकुण्ठमान मास्केलाई प्रदान गरिएको छ । काठमाडौँकै रैथाने मास्केले २०२४ सालमा ‘हिजोआज भोलि’ चलचित्रमा सहायक छायाकारका रूपमा प्रवेश गर्नुभएको थियो । सिजी कामना फिल्म अवार्डमा नवल नेपालद्वारा निर्देशित चलचित्र ‘महसुस’ ले सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट चलचित्र र सर्वाेत्कृष्ट पटकथा गरी तीन अवार्ड हात पार्दै ‘ह्याट्रिक’ गरेको छ । त्यसैगरी सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र‘महसुस’ मार्फत नायिका केकी अधिकारीले हात पारिन् भने सर्वोत्कृष्ट अभिनेताको अवार्ड आर्यन सिग्देलले जिते । जुरी अवार्डका रूपमा ‘अन्तराल’ चलचित्रका निर्देशक दीपा बस्नेतले प्राप्त गरिन् । त्यसैगरी उत्कृष्ट सहअभिनेता गौरव पहाडी र उत्कृष्ट सहअभिनेत्री जेनिशा हमालले चलचित्र ‘महसुस’मार्फत हात पारे । सर्वोत्कृष्ट सङ्गीतकार ‘नाइँ नभन्नू ल–२’ मार्फत गैरे सुरेश, उत्कृष्ट शब्द डा कृष्णहरि बराल, उत्कृष्ट बालकलाकार अनुभव रेग्मी, उत्कृष्ट हास्यकलाकार विल्सन विक्रम राईले अवार्ड जितेका छन् । चलचित्र ‘होस्टल’ र ‘महसुस’ले धेरै विधामा अवार्ड जिते । नेपालको पहिलो नायिका भुवन चन्दको स्वागत नृत्यबाट सुरु भएको अवार्ड कार्यक्रममा नायक शिव श्रेष्ठ, भुवन केसी, रमेश उप्रेती, नायिका करिष्मा मानन्धरको आकर्षक नृत्यले सभाकक्षलाई रौनक दिएको थियो । यसअघि अवार्डको सुरु गर्दै सिजी इन्टरटेन्मेन्टका अध्यक्ष वसन्तकुमार चौधरीले अवार्ड समग्र नेपाली कलाकर्मीको सम्मानका रूपमा भएको बताउनुभएको थियो ।