शान्ति प्रक्रियाका बाँकी रहेका काम पूरा गर्न सरकारलाई समितिको आग्रह


???????????????????????उच्चस्तरीय राजनीतिक समितिले शान्ति प्रक्रियाका बाँकी रहेका काम तत्काल पूरा गर्नका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा बसेको बैठकले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजबिन आयोग गठनको कामलाई तत्काल पूर्णता दिन सरकारलाई आग्रह गरेको हो । दश वर्ष द्वन्द्वका समयमा भएका घटनालाई उचित छानबिन गरी सत्यतथ्यको निरूपण गर्नका लागि गठन गर्ने भनिएका दुईवटै आयोगको प्रक्रिया अगाडि बढेर पनि हालसम्म पूर्णता पाउन नसकेको भन्दै सो विषयमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले शान्ति प्रक्रियामा बाँकी रहेका कामलाई पूर्णता दिने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिनुभयो । उहाँले संविधान निर्माणका लागि दलहरूबीच जारी रहेको संवाद तथा सहमतिको प्रक्रियाका विषयमा समेत बैठकमा छलफल भए पनि आ–आफ्ना कुरा राख्नेमात्रै काम भएको बताउनुभयो । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विगतमा दलहरूबीच नै भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्ने र शान्ति प्रक्रियालाई पूर्णता दिने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिनुभयो । संविधान निर्माणका क्रममा देखिएका विवादित विषयलाई हल गर्ने ध्येयका साथ बैठक बोलाइएको भए पनि दलहरूले आ–आफ्नै अडान दोहो¥याएका कारण कुनै ठोस सहमति हुन भने नसकेको उहाँको कथन थियो । लामो समयपछि बसेको समितिको बैठकमा समितिका संयोजक एवम् एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले विगतका सहमति तथा सम्झौताका आधारमा सहमतिमा नै संविधान निर्माण प्रक्रियालाई टुङ्गो लगाएमात्र शान्ति प्रक्रियाले पूर्णता पाउने भएकाले सोही आधारमा अगाडि बढ्न दलहरूलाई आग्रह गर्नुभएको थियो । उहाँले शान्ति प्रक्रियाको अभिन्न अङ्गका रूपमा संविधान निर्माण प्रक्रिया पनि जोडिएकाले अङ्कगणितका आधारमा नभएर सहमतिका आधारमा मात्रै संविधान लेखन प्रक्रियालाई पूर्णता दिइए मुलुक र जनताको अपेक्षासमेत पूरा हुने धारणा राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]