अवरुद्ध संविधान लेखन प्रक्रिया सम्बन्धमा तीन दलको छलफल, एमाले र एमाओवादीबीच आज वार्ता हुने


???????????????प्रमुख तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा (माओवादी)ले केही समययता अवरुद्ध संविधान लेखन प्रक्रियाका सम्बन्धमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा भइरहेको गतिरोध चाँडो खोल्ने सम्बन्धमा छलफल भयो । बैठकपछि एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान लेखनका सम्बन्धमा संवाद तथा सहमति समितिमा देखिएको गतिरोध अन्त्य गर्ने सम्बन्धमा बैठकमा छलफल भएको जानकारी गराउनुभयो । बैठकमा छलफल भए पनि केही निष्कर्ष निस्कन नसकेको जानकारी गराउँदै उहाँले गतिरोध अन्त्यका सम्बन्धमा आज हुने समितिको बैठकअगाबै दलबीच द्विपक्षीय छलफल हुने भएको जानकारी दिनुभयो । एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान लेखनका विवादित सम्पूर्ण विषयमा सहमति खोजेर जाने एमाओवादीको अडान कायमै रहेका कारण बैठकमा सहमति हुन नसकेको बताउनुभयो । काँग्रेस र एमालेले सहमति भएका र नभएका दुवै विषयलाई संविधानसभामा लैजानुपर्नेमा जोड दिँदै आएका छन् । एमालेका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री वामदेव गौतमले आज हुने संवाद समितिको बैठकअगाबै एमाले र एमाओवादीबीच द्विपक्षीय वार्ता हुने जानकारी गराउनुभयो ।
प्रधानमन्त्री र दाहालबीच भेट
यसअघि प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उहाँहरूबीच संविधान निर्माणमा देखिएका विवादित विषयलाई तत्काल टुङ्ग्याएर अगाडि बढ्ने सम्बन्धमा कुराकानी भएको थियो । प्रमुख दलहरूबीच विवादित विषयमा सहमति जुटन् नसकेको र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक बस्न नसकेको सन्दर्भमा नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री कोइरालालाई सहमतीय प्रक्रियाका आधारमा अगाडि बढ्न अध्यक्ष दाहालले आग्रह गर्नुभएको थियो । अध्यक्ष दाहालको आग्रहलाई सकारात्मक रुपमा लिँदै प्रधानमन्त्री कोइरालाले प्रमुख तीन दलको बैठक बसेर विवादित विषयमा सहमति जुटाउने प्रतिबद्धता जनाउनुभएको थियो । यस्तै अध्यक्ष दाहालले प्रमुख तीन दलको बैठकमा मधेस केन्द्रित दललाई समेत सहभागी गराउन आग्रह गर्नुभएको उहाँका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
तीन दलको बैठकपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार साँझ भेटवार्ता भएको छ । संविधान लेखनको जारी गतिरोध हटाउने सम्बन्धमा उहाँहरुबीच करिब एक घण्टा छलफल भएको अध्यक्ष दाहालका सहयोगी चुडामणि खड्काले जानकारी गराउनुभयो । आज संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठकअगावै एमाले र माओवादीबीच दुईपक्षीय वार्ता हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]