मोदीको जनकपुर भ्रमणको विषयमा सरकारले अपरिपक्वपन देखाएको एमाओवादी आरोप


dinanathएकीकृत नेकपा(माओवादी)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको विषयलाई लिएर सरकारले अपरिपक्वपन देखाएको टिप्पणी गरेको छ । जनकपुर भ्रमणको विषयमा सम्बन्धित मुलुकले स्पष्ट जानकारी नगराएको र तयारीसमेत पूरा नभएको अवस्थामा मन्त्रीहरू नै आरोप प्रत्यारोपमा उत्रनुले राम्रो सन्देश नगएको सो पार्टीको भनाइ छ । एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता दीनानाथ शर्माले राजनीतिक उद्देश्य परिपूर्तिका लागि मात्रै भारतीय प्रधानमन्त्रीको भ्रमणका बारेमा सरकारका मन्त्रीहरूबीच नै मतभेद भएकाले समस्या पैदा भएको बताउनुभयो । नेपालको धार्मिक क्षेत्रकाबारे भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबाट विश्वका जनसमुदायले थाहा पाउने भएकाले त्यो विषय मुलुकै हितमा रहेको उहाँको कथन थियो । जनकपुर, लुम्बिनी, मुक्तिनाथलगायतका क्षेत्रहरू मुलुकको पर्यटकीय क्षेत्र भएकाले भारतीय प्रधानमन्त्रीलाई मात्रै होइन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)मा आउने अरु मुलुकका पाहुनालाई समेत ती स्थानमा भ्रमण गराउनुपर्ने प्रवक्ता शर्माको भनाइ थियो । फरक एक प्रसङ्गमा प्रवक्ता शर्माले सरकारमा रहेका दलका कारण संविधान निर्माण प्रक्रियामा गत्यावरोध उत्पन्न भएको आरोप लगाउनुभयो । विगतका सहमति तथा सम्झौतालाई अक्षरशः कार्यान्वयन गर्न नेपाली काँग्रेस र नेकपा(एमाले)का नेताहरू सहमत भए आगामी माघ ८ गतेभित्र मुलुकले संविधान पाउने अन्यथा सो समयमा संविधान आउन नसक्ने उहाँको कथन थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]